| बिहिबार, बैशाख ६, २०८१

पालुंटारमा औद्योगिक क्षेत्र ः आउँदो साता भेला गरी प्रारम्भिक अध्ययन सुरु गरिने

पालुंटारमा औद्योगिक क्षेत्र ः आउँदो साता भेला गरी प्रारम्भिक अध्ययन सुरु गरिने

दरौँदी ः औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले च्याङ्लीमा स्थापना गर्न लागेको प्रदेश नं. ४ को प्रदेशस्तरको औद्योगिक क्षेत्रका लागि वातावरण सकारात्मक बनेको छ । स्थानीयबासी, जनप्रतिनिधिहरु र सबै राजनीतिक दल औद्योगिक क्षेत्र स्थापनाका लागि सकारात्मक रहेको पालुङ्टार नगरपालिकाकी उपमेयर पम्फा बसेलले जानकारी दिइन् ।
यसअघि जग्गा दलाल र बिचौलियाहरुको उक्साहटमा केही स्थानीयबासीले औद्योगिक क्षेत्र स्थापना गर्न नहुने भन्दै बिरोध गरेका थिए । गत माघ २९ गते नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र पेश गरेका थिए ।
‘पहिले गाउँलेहरु केही जग्गा दलाल र बिचौलियाहरुको उक्साहटमा लागेर बिरोधमा उत्रिएका थिए । अहिले हामीले मुख्यमन्त्रीदेखि गाउँलेसम्म सबैलाई यथार्थ कुरा बुझाइसकेका छौं’ उपमेयर बसेलले भनिन् ‘अहिले प्रदेश सरकार, स्थानीयबासी पनि सकारात्मक छन् । जनप्रतिनिधि र सबै राजनीतिक दलका प्रतिनिधि पनि सकारात्मक हुनुहुन्छ ।’ वातावरण सकारात्मक भएपछि प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालयले औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडलाई पत्राचार गरिसकेको उनले बताइन् ।
औद्योगिक क्षेत्र स्थापना भएपछि गाउँमा हुने विकास र सम्वृद्धिको बारेमा सबैलाई स्पष्ट पारेको उपमेयर बसेलले बताइन् । ‘औद्योगिक क्षेत्र स्थापना भएपछि गाउँलाई र सिंगै प्रदेशलाई हुने फाइदाको बिषयमा अहिले गाउँलेहरु स्पष्ट छन्’ उनले भनिन् ‘अब लिमिटेडले प्रक्रिया अघि बढाए कुनै रोकतोक छैन ।’
विवाद समाप्त भएको वडा अध्यक्ष वसन्त श्रेष्ठले जानकारी दिए । ‘पहिले स्थानीय स्तरमा समन्वय भएको थिएन त्यसैले विवाद भएको थियो’ श्रेष्ठले भने ‘अहिले माथिल्लो भेगको गाउँ नछुने गरी मस्र्याङ्दी किनार आसपासको क्षेत्रमात्र प्रयोग गर्ने सर्तमा सबै सहमत भएका छन् ।’
औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले पालुङ्टार वडा नं. ७ को ज्याग्दीखोलादेखि वडा नं. ८ को हजारफाँटसम्मको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना पर्ने प्रक्रिया अघि बढाएको थियो । सो नगरपालिकाको कार्यपालिका बैठकले औद्योगिक क्षेत्र स्थापनाका लागि सिफारिस पनि गरिसकेको छ । औद्योगिक क्षेत्र स्थापना गर्न आबश्यक पर्ने १० हजार रोपनी जग्गा अत्यन्त सुहाउँदो भएकाले लिमिटेडले गत माघ २५ गते पहिलो चरणको अध्ययन गरेको थियो । अध्ययनकै क्रममा बिरोध आएपछि प्रक्रिया रोकिएको लिमिटेडका अध्यक्ष एवं महाप्रवन्धक नन्द किशोर बस्नेतले जानकारी दिए ।
आपसी समन्वय गरी सकारात्मक वातावरण बनाउन लिमिटेडले नगरपालिका कार्यालयलाई अनुरोध गरेको थियो । ‘हाम्रो अनुरोध अनुसार नगरपालिकाले वातावरण बनाएको छ’ अध्यक्ष एवं महाप्रवन्धक बस्नेतले भने ‘अब हामी जेठ महिनाभित्रै प्रारम्भिक सम्भाव्यता अध्ययन पूरा गर्नेछौं । आउँदो आर्थिक बर्षभित्र आईई र विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाउनेछौं ।’ उनले आउँदो हप्ता नै स्थानीय स्तरको भेला गरी स्थानीयस्तरको समन्वय समिति बनाउने पनि बताए । ‘अहिले मेयर बाहिर देश जानु भएको छ । उहाँ आउने बित्तिकै स्थानीयस्तरको भेला डाकी समन्वय समिति बनाउनेछौं’ बस्नेतले भने ‘त्यसपछि अध्ययन टोलीले काम थाल्नेछ ।’
यसअघि लिमिटेडले कास्कीको पटनेरीमा प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो तर पर्याप्त जग्गा र उपयुक्त स्थान नभेटेपछि च्याङ्लीको जग्गाको अध्ययन गरेको थियो ।
यहाँ औद्योगिक क्षेत्र स्थापना भएमा बहुराष्टिूय कम्पनी तथा स्वेदशी उद्योगपतिहरुले पाँचसय वटा भन्दा धेरै उद्योग सञ्चालन गर्नेंछन् । उद्योगमा स्थानीयबासीले रोजगारी पाउने व्यबस्था छ । यहाँ उत्पादित सामान स्थानीय स्तरमा, प्रदेशमा उपभोग गर्ने र बाहिर समेत निर्यात गर्ने लिमिटेडको लक्ष्य रहेको अध्यक्ष बस्नेतले बताए ।
साथै पालुङ्टारलाई निजगढ, लुम्बिनीमा जस्तै स्मार्टसिटी बनाउने सरकारले निर्णय गरेको छ । नीजिस्तरको उद्योग आर्थिक निकाय ‘विशेष आर्थिक क्षेत्र(सेज)’ले गोरखाको रबर उद्योगभन्दा अगाडिको क्षेत्रदेखि सो औद्योगिक क्षेत्र जोड्ने गरी उद्योग सञ्चालन गर्न पनि प्रारम्भिक अध्ययन गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्