यस कारण नियन्त्रणमा लिइयो गोरखाका आठ एम्बुलेन्स
दरौँदी ः जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले मापदण्ड बिपरित सञ्चालनमा रहेका एम्बुलेन्सहरु लाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्लामा अनुमति नलिएका र मापदण्ड पुरा नगरी विरामी ओसार पोसार गर्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको हो ।
अहिले सम्म विभिन्न संघसंस्थाका ८ वटा एम्बुसेन्सलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका नानीबाबु दानीले जानकारी दिए ।
‘विरामी बोक्ने एम्बुलेन्स कम्तीमा मापदण्ड अनुरुप त हुनुप¥यो नी’ दानीले भने ‘केही एम्बुलेन्सले सञ्चालन अनुमति पनि लिएका छैनन् । केहीले एम्बुलेन्समा राख्नै पर्ने अक्सिजन लगायतका अति आवश्यक औजारहरु पनि नराखेको पाइयो ।’ केही समय यता जिल्ला जनस्वास्थ्य कार्यालयले मापदण्ड विपरितका एम्बुलेन्स नियन्त्रणमा लिन थालेको छ ।
एम्बुलेसेन्स खरिद गरेपछि रुट पर्मिट नलिई सञ्चालन गर्न नपाइने कानुनी ब्यवस्था भएपनि गोरखाका अधिकांश एम्बुलेन्स आफुखुसी गुड्न थालेपछि कानुनी प्रक्रिया अनुसार कारबाही थालिएको उनको भनाई छ । गोरखामा सहिद भीमसेन स्मृती प्रतिष्ठानले सञ्चालनमा ल्याएको, आरुघाट यूवा क्बल र उवासंघ आरुघाट इकाइले सञ्चालनमा ल्याएको, कोमल बहादुर कुँवर स्मृती प्रतिष्ठानले सञ्चालनमा ल्याएको, मिलीजुली महिला समुहले सञ्चालनमा ल्याएको, आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालनमा ल्याएको, मंगोलेश्वर सांस्कृतीक मञ्च च्याङ्लीले सञ्चालनमा ल्याएको एम्बुलेन्सहरु मापदण्ड बिपरित सञ्चालनमा रहेका थिए ।
त्यस्तै बुंकोट स्वास्थ्य चौकीले सञ्चालनमा ल्याएको, भूपुसैनीक संघ बारपाक द्धारा सञ्चालनमा रहेको एम्बुलेन्सले मापदण्ड विपरित विरामी ओसार पोसार गरेकोले नियन्त्रणमा लिएको हो । यि मध्ये आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र र मंगोलेश्वर सांस्कृतीक मञ्च च्याङ्लीले मापदण्डहरु पुरागरी एम्बुलेन्स फिर्ता लगिसकेका छन् ।
‘एम्बुलेसन्स सञ्चालन निर्देशिका अनुसार रुट पर्मिट लिएर गाडी चलाउने भन्ने छ त्यसो भएन’ दानीले भने ‘एम्बुलेन्स त सम्बेदनशिल कुरा हो नी विभिन्न अनुदानमा ल्याएर बिमा गर्नु छैन, नबिकरण छैन । न्यूनतम औजारहरु छैन । यिनीहरुलाई टूयाकमा ल्याउनै पर्छ भनेर हामी एक्सनमा गएका हाँै ।’
जिल्ला जनस्वास्थ्यले विभिन्न पत्रपत्रिमा मार्फत नविकरण गर्न, मापदण्ड पुरा गर्न सूचना जारी गर्दा पनि नआएको यी आठ संस्थाका एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको हो । ‘निर्देशिकाले त उनीहरुको दर्ता खारेज नै गर्न पनि मिल्छ हामीले सेवा दिनेहरुलाई प्रक्रिया पुरा गराएर फिर्ता पठाउने गरेका छौँ ।’ उनले भने ।