| सोमवार, कार्तिक ८, २०७८

भूकम्प र पहिरोबाट बिस्थापित केरौंजाका ६५ घरधुरीलाई घडेरीको लालपूर्जा वितरण

भूकम्पपछि पहिरोको जोखिममा रहेका धार्चे गाउँपालिका केरौंजा का ६५ घरधुरीलाई घडेरीको लालपुर्जा वितरण गरिएको छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पहिरोले उच्च जोखिममा परेको केरौंजामा बस्ती स्थानान्तरणका लागि बिहिबार ६५ घरधनीलाई लालपुर्जा वितरण गरिएको हो । गाउँमा आयोजित कार्यक्रममा वडा अध्यक्ष शुकबहादुर गुरुङले लालपुर्जा वितरण गरे । उनिहरुलाई केरौंजाकै डोङ्गान, लामाबेंसी र बाम्लाक्चोक मा स्थानान्तरण गरी लालपुर्जा वितरण गरिएको गुरुङले जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालयले दिगो समाधान परियोजना नामक गैह्र सरकारी संस्थासँगको समन्वयमा स्थानीयलाई लालपुर्जा वितरण गरेको हो । गाउँमा सिर्दिबासस्थित नापी र मालपोत कार्यालयको टोलीले असार दुई गतेदेखि डोरमुकाम स्थापना गरेर लालपुर्जा तयार पारेको परियोजनाका जिल्ला पैरवी अधिकृत धिरेन्द्र कुमार आरसीले बताए । केरौजाका चार सय ३ घरधुरी स्थानान्तरण गर्नुपर्नेमा हालसम्म दुई सय ५७ घरलाई सुरक्षीत ठाउँको लालपुर्जा वितरण भैसकेको दिगो समाधान परियोजनाकी अधिकृत पुष्पा घलेले जानकारी दिईन् । ‘अब लालपुर्जा वितरणका लागि धेरै घर बाँकी छैन ’ उनले भनिन् ‘ बाह्र जनाले गाउँ बाहिर जग्गा किनेका छन् ।

केरौंजा

सुचिकृत भएकाहरुले पनि मेरो सुरक्षीत जग्गा छ भनिरहेको अबस्था छ । त्यसैले करीब ५०÷६० घरलाई मात्रै लालपुर्जा बाड्न बाँकी भयो ।’ पुरानो बस्ती पहिरोको जोखिममा परेपछि स्थानीय भुकम्प लगत्तै भाडाको जग्गा तथा आसपासका क्षेत्रमा बस्दै आएका थिए । बाँकी घरधुरीलाई लालपुर्जा वितरण गर्न जग्गा खोजी भैरहको वडा अध्यक्ष गुरुङले बताए । ‘बाँकी घरधुरीलाई पनि जग्गाको खोजि भैरहेको छ’ उनले भने ‘भुगर्भविद्ले छनौट गरेका ठाउँहरुमा वस्ती स्थानान्तरण गर्ने हो ।’ अझैपनि गाउँका १०÷१२ घर टहरामा नै गुजारा चलाएका उनले बताए । भूकम्पको लामो समयसम्म जोखिमयुत्त, वस्ती स्थानान्तरण हुन नसक्दा केरौंजाका केहि घरधुरी गोरखा सदरमुकाम सहित आरुघाट बजार र चितवनमा पनि बसाई सरेका स्थानीयले बताएका छन् । अहिले लालपुर्जा पाएकाहरुले जग्गा खरिदका लागि सरकारबाट दुई लाख रुपैयाँ पाँउछन् ।

प्रतिक्रिया दिनुहोस्