
गोरखा दरबारको जग मजबुत बनाउने काम सुरु, शुक्रबार पुजा गरियो
दरौँदी ः भूकम्पले ध्वस्त गोरखा दरबार पुननिर्माणको लागि शुक्रबार जग मजमुत बनाउने काम सुरु गर्न पुजा गरिएको छ । शुक्रबार विहान १० ः ३० बजे दरबारका ब्राह्मणहरुले साईत निकालेर पुजा गरेका हुन् । ‘आज (शुक्रबार) अति उत्तम साइत थियो’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भूसालले भने ‘पुराना संरचना भत्काएर नयाँ बनाउन ठिक्क पारिएको छ । जग मजबुत बनाउने काम सुरु गर्न पुजा भइहाल्यो अब काम सुरु हुन्छ ।’
तीन वर्ष अघिको भूकम्पले करिब चारसय वर्ष पुरानो गोरखा दरबार पूर्ण रुपमा ध्वस्त पारेको थियो । गोरखा दरबार पूननिर्माणको जिम्मा चार करोड ३७ लाख रुपैँयामा पचलीसीभा जेबी कन्स्ट्रक्सनले पाएको छ । निर्माण कम्पनीले कात्तिकमा निर्माणको जिम्मा पाएको हो । उसले ठेक्का पाएको दुई वर्ष छ महिना भित्रमा गोरखा दरबार पुरानै शैलीमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरेको गोरखा दरबार हेरचाह अड्डाकै सुब्बा रामेश्वर कट्टेलले जानकारी दिए ।
यस अघि भूकम्पले ध्वस्त पारेको दरबार भत्काउँदा पनि साईत जुराएर क्षमा पुजा गरेर भत्काइएको थियो ।
गोरखा दरबारको जग पुजाका लागि विभिन्न तीन वटा साईत हेरिएको थियो । ‘तीनवटा साईत हेरेको जसमध्ये शुक्रबार राम्रो भएको भएर जगपुजा गरी नयाँ दरबार बनाउन सुरु गरियो’ भूसालले भने ।
१९९० को भूकम्पले समेत क्षति नपुगेको दरबारमा २०७२ वैशाखको भूकम्पले जगैसम्म धक्का दिएको थियो । भूकम्पले ध्वस्त पारेपछि गोरखा दरबार निर्माण भएको ३ सय ८८ वर्ष पछि फेरी नयाँ दरबार बनाउन लागिएको हो । विसं १६८६ मा राजा राम शाहका पालामा निर्माण भएको दरबार अहिले पुननिर्माण गर्न लागिएको हो । भूकम्पको कारणले मुलदरबार, गोरखनाथ गुफा, लक्ष्मी मन्दिर, रोट पकाउने ठाउँ सबै ध्वस्त भएको थियो । भूकम्पपछि उक्त दरबारको जगबाट पानी छिरेर अन्यत्र र नजिकै रहेको गोरखनाथ गुफामा निस्कने गरेको थियो ।
पृथ्वीनारायण शाहलगायतले प्रयोग गरेको राजगद्दी भने पुनर्निर्माण अवधिभरका लागि सुरक्षित स्थलमा सारेर राखिएको कट्टेलले जानकारी दिए । जगैसम्म भत्काउने क्रममा विसं. १८६३ अभिलेख भएका बुट्टेदार दुई वटा इँटाहरूसमेत भेटिएका छन । ति सबै हेरचाह अड्डाले सुरक्षित राखेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि शाह वंशका १० जना राजाले उक्त दरबारबाट शासन चलाएको इतिहास छ । दरबारको पुननिर्माणको काम चलिरहे पनि यहाँ हुने नियमित पूजा भने नरोक्ने दरबार हेरचाह अड्डाले जनाएको छ । नयाँ दरबार बनाउँदा प्रयोग गर्न मिल्ने झिँगटी, काठ, इँटा लगायतका सामग्रीहरु सुरक्षित ठाउँमा राखिएको उनले जानकारी दिए । गोरखा दरबार भत्काउन मात्र दुई महिना समय लागेको थियो । भूकम्पले ध्वस्त पारेको दरबार परिसर भित्रका राम शाह चौतारो, पाहुना घर, सिँढी बाटो, छानाहरू, गोरखनाथ मन्दिर, रोटपाटी र दमै पाटी मर्मत गरि सकिएको छ ।