भारतका गुप्ता गोरखामा समोसा बेचेर पैसा कमाउँछन्
अश्विन दानी : भारतको मोतिहारीका शुबोध गुप्तासँग विश्वकै ठुलो अर्थतन्त्रको हिस्सा बोकेको आफ्नै देशमा रोजगारी नपाएको तितो अनुभव छ । रोजगारीका लागि २०६९ सालमा नेपाल फिरेका उनी अहिले गोरखा नगरपालिका ६ स्थित आयूर्वेदिक चोकमा बस्छन् ।
आफ्नै देशमा केही गरेर आयार्जन गर्छु भन्दा पनि भारतमा कुनै अबसर नपाएको गुप्ता बताउँछन् । पाँच बर्ष अघि गाउँबाट करिब २० हजार रुपैँया खोजी काम खोज्दै गोरखा आईपुगेका गुप्ताको अहिले आयूर्वेदिक चोकै अगाडि मिठाई पसल छ । आफुले स्वदेशमा कुनै काम नपाएपनि नेपाल आएर काम पाएकाले उनी नेपालीहरु रोजगारीकै लागि बिदेश जाने गरेको सुन्दा अचम्म मान्छछन् । ‘मिहिनेत गर्ने मान्छेलाई नेपालमै धेरै रोजगारी छ’ गुप्ता भन्छन् ‘म भारतबाट नेपालमा आएर काम गरेको पाँच बर्ष पूरा भयो । अहिले महिनाको ३० हजार रुपैँयाभन्दा बढि कमाउँछु ।’ उनको मिठाई पसल बिहान सात बजेदेखि बेलुका साँढे आठ बजेसम्म खुल्ने गर्छ । पसल खुलेदेखि बन्द नभएसम्म खाजा खानका लागि मान्छेहरु आईराख्ने गुप्ता बताउँछन् । ‘दिनमा एकसय जनाभन्दा बढि ग्राहकहरु खाजा खान आउँछन्’ उनले भने ‘कहिले काँही त हातै आलि हुँदैन् । मिठाई पसलबाट राम्रो कमाई हुन थालेपछिे भाई मंगलकुमारलाई पनि ल्याएको छु ।’ आजभोलि भाइले पनि काममा सघाउन थालेकाले सजिलो हुन थालेको उनले बताए । भाई मंगल आएपछि उनले मिठाई पसकै आडमा एउटा ठेला राखी चटपट र पानीपुरी समेत बेच्न थालेका छन् ।
मिठाई पसल खोलेको सुरु सुरुमा नेपाली भाषा बोल्न नजान्दा कतिपय ग्राहकहरु आफुसँग रिसाएको बिगत सम्झिँदै गुप्ताले भने ‘कुनै दाजुहरु मैले नेपाली भाषा उनीहरुको कुरा नबुझेको भन्दै रिसाउनु भएको थियो । त्यो कुरा सम्झँदा दुख लाग्छ ।’
गोरखा आएको सुरु सुरुमा नेपाली भाषा बोल्न र बुझ्न नसक्दा मानिसहरु रिसाएको घटना मनमा राखिरहेको गुप्ता अहिले भने मज्जाले ग्राहकहरु सँग नेपालीमै कुराकानी गर्छन् । उनलाई अहिले पसलमा आउने सबैले भैया भनेर बोलाउने गर्छन् । उनी पनि पसलमा आउने सबै ग्राहकहरु सँग मिठो बोल्दै आफ्नै हातले बनाएका मिठाईका परिकारहरु प्रति गोटा १० रुपैँयामा खुवाउँछन् । मिहिनेत गर्ने हो भने नेपालमा नै प्रशस्त कमाई गर्न सक्ने भएकाले नेपालीहरु काम खोज्दै बिदेश जानु पर्ने अबस्था आफुले नदेखेको गुप्ताले बताए ।