| शनिबार, कार्तिक १७, २०८१

गोरखा कारागारमा कैदीको ताला

गोरखा : गोरखा कारागारमा कैदीबन्दीले तालाबन्दी गरेर धर्ना दिएका छन् । कारागारका नाइने, भाई नाइके लगायतले दमन गरेको भन्दै कैदीहरुले कारागार भित्रको दुईवटा ढोकामा ताला लगाई मंगलबार विहान देखि धर्ना दिएको गोरखा कारागार गोरखाका प्रमुख शशिधर सुबेदीले जानकारी दिए । ‘कैदीहरुले हामी माथि नाइके, भाइनाइकेहरुले दमन गरे भनेर धर्ना दिएका छन्’ सुबेदीले भने ‘कारागारभित्रै तालाबन्दी भएपछि वार्ता गर्ने तयारीमा छौँ ।’

कैदीबन्दीलाई कारागार बाहिर वार्ताका लागि बोलाइएपनि आउन नमानेपछि भित्रै वार्ता गर्न लागिएको हो । कैदीहरुले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखरै आफुहरुलाई दमन भएको जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारीलाई कैदैबन्दीले लेखेको १२ बुँदे पत्रमा आफन्तलाई फोन गरेको प्रतिमिनेट दुई रुपैँया लिने, कैदीले प्रयोग गर्ने विभिन्न सामग्रीहरु, खानाबाट पैसा असुल्ने, चौकीदार, नाइकेले बजार गएर मादक पदार्थ सेवन गरी आइ कैदीलाई धम्काउने थर्काउने लगायतको काम गरेको भनेर उल्लेख गरिएको छ । गोरखा कारागारका चार नाइके र ८ भाई नाइकेले कैदीहरुलाई दमन गरेको कैदीहरुले आरोप लगाएका छन् । प्रशासनले उनीहरुले लगाएको आरोपबारे छानविन र वार्ता गर्ने सुबेदीले बताए । 

प्रतिक्रिया दिनुहोस्