| शनिबार, बैशाख ८, २०८१

बारपाक भूकम्पको तीन वर्ष पूरा

गोरखा भूकम्पको तीन वर्ष ः गोरखा पुननिर्माणको गति सुस्त, एनजिओ आइएनजिओको लाईन मात्रै !

दरौँदी ः गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर विनाशकारी गोरखा भूकम्प गएको तीन वर्ष पूरा भएको छ । भूकम्पले गोरखामा मात्रै ६० हजार घर ध्वस्त पा¥यो चारसय ७२ जनाको ज्यान लियो । भूकम्पले धनजनको क्षति त ग¥यो नै विकासमा केही फड्को मार्न समेत सहयोग ग¥यो । भूकम्प पछि गोरखामा दाताको पनि लाईन लाग्यो ।
तीन वर्ष पुरा भएपनि गोरखाको पुननिर्माणको गति सोचे अनुसारको छैन । गोरखामा स्वास्थ्य संस्थाबाहेक अन्य क्षेत्रको सन्तोषजनक पुननिर्माणको नतिजा देखिँदैन । भूकम्पको नाममा अनेकै गोष्ठी, सेमिनारहरु भएपनि केही पिडित अझै त्रिपालको टहरोबाट जस्तापाताले बारेको टहरोबाहेक सुरक्षित घरमा सर्न सकेका छैनन् । सरकारले तीन लाख रुपैँयाको अनुदान घर बनाउन दिने भनेपनि त्यसको झन्झटीलो प्रक्रियाले पिडित झन् पिडित छन् ।
के छ गोरखा पुननिर्माणको प्रगती ?
गोरखामा ७४ हजार तीनसय ८९ घरधुरीको सर्वेक्षण भएपनि ६१ हजार तीनयस ९३ घरधुरी मात्रै नेपाल सरकारको अनुदान पाउने सूचीमा परे । गोरखामा भूकम्पले भत्काएको घरलाई मर्मत गरी (प्रवलीकरण) बस्ने दुई हजार १९ घरधुरी रहेका छन् । अहिले सम्म अनुदान सम्झौता गरी पहिलो किस्ता प्राप्त गर्ने लाभग्राहि ५७ हजार तीनयि ४७ घरधुरी रहेका छन् । दोस्रो किस्ताको लागि सिफारिस भएका लाभग्राहि ४३ हजार नौसय ११ घरधुरी छन् । त्यस्तै तेस्रो किस्ताको लागि सिफारिस भएका लाभग्राहि १८ हजार चारसय तीन रहेका छन् । सिफारिस भएका सबैले रकम पाइसकेका छैनन । ५७ हजारले पहिलो किस्ता लिइसकेका छन् । करिब ३८ हजार चारसय १८ जनाले दोस्रो र १२ हजार सातसय ८१ जनाले तेस्रो किस्ता पाइसकेका छन् । भूकम्प पछि जिल्लाका केही सडक आयोजना र मामोटरेबल पुल भने एडिबी र जाइकाको सहयोगमा राम्रै बनेका छन् ।
जोखिमयुक्त वस्तीे व्यवस्थापनमा अझै चुनौती
भूकम्प पछि बस्नै नहुने गरी जोखिम भएका चारवटा बस्तीका तीनसय ६४ घर अन्यत्रै सार्नुपर्ने भएपनि अहिले सम्म कहाँ सार्ने भन्ने टुंगो नलागेको पुननिर्माण प्राधिकरण गोरखाका शिव पौडेलले जानकारी दिए । अति जोखिममा रहेको केरौँजागाउँ कहाँ स्थानान्तरण गर्ने भन्ने अझै टुंगो लागेको छैन । केरौँजाबासीहरु अझै पनि गाउँमाथी पनि पहिरो र तल पनि पहिरोको जोखिमका विच गाउँमा बसिरहेको केरौँजाका फिरेन्द्र घलेले बताए । भूकम्पकै केन्द्र विन्दु बारपाकको २० घर दलित बस्ती अहिले पनि सरकारी जग्गा र गाउँलेको जग्गामा भाडा तिरेर बसिरहेका छन् । सरकारले पुरानो थलोलाई बस्न नहुने त भन्यो तर, स्थानान्तरण भएर कहाँ जाने भन्ने नबताइँदिँदा उनीहरु अझै पनि टहोमै छन् ।
गोरखामा १२ हजार तीनसय २२ घरधुरीको गुनासो बाँकी छ । भूकम्प पछि लाप्राक र बगुवाका सातसय ११ घर एकिकृत वस्तीमा स्थानान्तरण भएका छन् ।
सरकारी पुननिर्माणमा स्वास्थ्य अगाडी, शिक्षा दोस्रोमा
२०७२ बैशाख १२ को भूकम्पले गोरखाका ५५ वटा स्वास्थ्य संस्था पूर्ण रुपमा ध्वस्त भए । २२ वटा स्वास्थ्य संस्था आंशिक क्षति भएका थिए भने नौ वटा स्वास्थ्य संस्था केही भएका थिएनन् । भुकम्प यता गोरखामा ५७ वटा स्वास्थ्य संस्थाको सुविधा सम्पन्न भवन बनेको छ । स्वास्थ्य संस्थाको पुननिर्माण सकिएपनि सबै भवनहरु पक्की भने होइनन् । अधिकांश भवनहरु प्रिफ्याब भवनबाट बनेको छ । गोरखामा स्वास्थ्य संस्था पछि विद्यालय भवनहरु सबै भन्दा धेरै पुननिर्माण भएका छन् । करिब चारसय ४० विद्यालय भूकम्पले ध्वस्त पारेपनि अहिले सम्म दुईसय ५५ विद्यालयको पुननिर्माण भइसकेको छ ।
भूकम्पले ध्वस्त पारेका र केही भवनहरु विस्तार गरेका गरेर दुई सय ७५ विद्यालयहरुको भवन निर्माणाधिन रहेको पुननिर्माण प्राधिकरण गोरखाका प्रमुख बेदप्रसाद आचार्यले जानकारी दिए । त्यस्तै खानेपानीका पाँचसय १६ आयोजना गोरखा भूकम्पले ध्वस्त पारेको थियो । अहिले सम्म तीनसय २२ वटा आयोजनाका पुन सञ्चालनमा आइसकेका छन् । ७५ आयोजना निर्माणाधिन छन् भने एकसय १९ वटा आयोजना पुननिर्माण गर्न भनेर प्रस्तावमा आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख रत्नप्रसाद लामिछानेले जानकारी दिए ।
किस्ता लिनै झण्झट
गोरखा बारपाकका विशुराम घलेको घर पुननिर्माण सम्पन्न भएको पाँच महिना भयो । उनी पहिलो किस्ता लिन गोरखा सदरमुकाम आए । सदरमुकाम आएर उनले भोलीपल्टै किस्ता बुझ्न पाएनन् । बैंकहरुले गर्ने ढिलासुस्तीले उनी पहिलो किस्ता लिन मात्रै गोरखा बजारमा तीन दिन बस्नु प¥यो । क्रमश दोस्रो र तेस्रो किस्ता लिन पनि यस्तै समस्या भोगेको उनले सुनाए । ‘गाउँमै बैंक जाने भन्थ्यो’ उनले भने ‘बैंक जाने कुरा त केहो केहो, यहीँ बजारमै पनि तीन दिन लाग्यो पैसा पाउन । ५० हजार रुपैँया बुझ्यो होटलमा बस्यो खायो १० हजार त्यसै सकियो । साह्रै दुख पाइयो ।’
सरकारको सहुलियतको ऋणले झुक्यायो
भूकम्पको केन्द्र विन्दु बारपाकका जीतबहादुर घले सरकारले दिने भनेको सहुलियतको ऋण नदिएर झुक्याएको बताउँछन् । ‘बैंकमा सबै कागजात लिएर गयो भने भूकम्प पिडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिने भनेर हामीलाई झुक्यायो ।’ उनले भने । विपन्न वर्गका लाभग्राहीलाई अनुदानबाहेक तीन लाख रुपैयाँ निब्यार्जी ऋण सुविधा उपलब्ध गराउने र दुई प्रतिशत ब्याजमा ऋण दिने घोषणा सरकारले गरेको थियो । त्यसको लागि सरकारले कार्यविधि नै पास गरेपनि प्रगती भने शून्य छ ।
एनजिओ आइएनजिओको लाईन
गोरखा भूकम्प पछि गोरखामा राष्टिूय अन्तराष्टिूय गैरसरकारी संस्थाको भिड नै लाग्यो । भूकम्प लगत्तै गोरखामा विभिन्न गैसरकारी संस्थाहरुको सूची दुई सय हाराहारी पुगेको थियो । पछि ति सबै संस्थाहरु गोरखाबाट विदा भए । पछि केही पुननिर्माणको काम समेत गर्ने गरेर ६० वटा हाराहारी संस्था क्रियाशिल भए । २०१८ को मार्च पछि गोरखामा केही अन्तराष्टिूय गैसरकारी संस्थाहरु मात्रै क्रियाशिल छन् । उनीहरुले भूकम्प यता गरेको खर्च विवरण अर्बाैँ देखिए पनि अहिले उनीहरुले के गरे भनेर खोज्दा भेटिने केही छैन । यति हुँदा हुँदै पनि केयर नेपाल उसका साझेदारी संस्थाहरु, अक्सफाम उसका साझेदारी संस्थाहरु, जाईका लगायतले भने केही काम पक्कै गरेको देखिन्छ ।
भूकम्प घर
भूकम्प पिडितले तीन लाख रुपैँया अनुदानमा बन्ने घरको नाममै भूकम्प घर राखेका छन् । भूकम्प पिडितले एककोठे र दुई कोठे घर धेरै बनाएका छन् । मान्छे बस्न पनि नमिल्ने ति घर अनुदानको लागि योग्य ठहरिरहेका छन् । भूकम्प पछि पुननिर्माणमा खटिएका प्राविधिकहरुको लापरबाहीले त्यस्ता घर बनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्