| बुधबार, अशोज २३, २०८१

कुमार,

खाडीको जेलमा एक्लो छोरो कुमार, गोरखामा रुँदै बाआमा, कसरी जुट्ला ८५ लाख ‘ब्लड मनी’ ?

काठमाडौं, १३ वैशाख- केही समयअगाडि पर्यटन मन्त्रालयको ठूलो हलमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकपछि श्रम मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा वैदेशिक रोजगारमा गएकामध्ये करीब ५ सय नेपाली विदेशको जेलमा रहेको जानकारी दिइएको थियो । ‘करीब ५ सय भन्नुको अर्थ नेपाल सरकारसँग स्पष्ट तथ्याङ्क नहुनु हो । घर फर्किन पाउने आशामा विदेशी जेलको चिसो छिंडीमा दिन गनिरहेका नेपालीहरूको स्पष्ट तथ्याङ्क समेत नराखेको सरकारले तिनीहरूलाई उद्दार गर्ला भनेर कसरी आशा गर्ने ?

गोरखाको भीमसेन गाउँपालिका वडा नम्बर ७ का कुमार राना मगर पनि स्वदेश फर्किने दिन औंलामा गन्दै बसिरहेका छन् । साउदीको अफिफ भन्ने ठाउँमा रहेको खालिद एस अल कम्पनीमा काम गरिरहेका राना दुई वर्षअगाडि लाइसेन्स र सवारीको तेस्रो पक्ष बिमा तथा कागजात नभएको अवस्थामा पनि कम्पनीले जबरजस्ती गाडी चलाउन लगाएपछि दुर्घटनामा परे ।

दुर्घटनामा साउदी नागरिक खालिद अल ओताइबी घाइते भए, पूर्ण उपचार सम्भव नभएपछि अपाङ्ग बन्न पुगे । पीडित पक्षले अदालतमा मुद्दा दायर गर्दै उपचार खर्चका साथै एकमुष्ट २ लाख ९४ हजार रियाल अर्थात् करीब ८५ लाख नेपाली रुपैयाँ माग गर्‍यो ।

काम लगाउने कम्पनीले र स्पोन्सरले यसरी झुक्याए

दुर्घटनापछि केही दिन हिरासतमा बसेका राना कम्पनीको सहायतामा छुटे । कम्पनीले घाइतेको उपचार खर्च व्योहोर्ने भन्दै कुमारलाई ल्याएर डेढ वर्षसम्म काममा लगायो । २०१६ को अप्रिलमा भएको दुर्घटनापछि पीडित खालिदले करीब पचासी लाख नेपाली रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने भन्दै हालेको मुद्दाको फैसला २०१७ अप्रिलमा गर्दै अफिफ जनरल कोर्टबाट सोही अनुसारको आदेश जारी भयो । त्यसपछि कम्पनीले उनलाई बेसाहारा छाडिदियो । दोष जति सबै उनको थाप्लोमा थुपारेर जेल पठायो । कुमार सेप्टेम्बर २०१७ देखि हिरासतमा बसेका थिए, त्यसपछि २०१८ को जनवरीदेखि अफिफ सेन्ट्रल जेलमा रहेका छन् ।
साउदीस्थित नेपाली दूतावासको सहयोगमा अदालतको फैसला उपर पुनरावेदन गर्न प्रयास गरे पनि त्यसमा सुनुवायी गर्नु नपर्ने निर्णय भएको थियो ।
जेलमा जीवन काटिरहेका रानाका स्पोन्सर खालिद अलहाजिरीसँग त्यहाँ स्थित नेपाली दूतावासले बारम्बार सम्पर्क गरेर रानाले त्यति धेरै रकम तिर्न नसक्ने, नेपाल सरकारसंग तिर्ने कुनै व्यवस्था नभएको भनेर उनको तर्फबाट केही राहत दिनुपर्ने प्रस्ताव राखेको भए पनि खालिदले केही सहयोग गर्न नसक्ने भनेर भनेका थिए ।

छोरा आउने दिन गन्दै गोरखामा बुबाआमा 

साठी वर्षकी आमा निमकुमारी र बैसट्ठी वर्षीय बाबु तेजबहादुर रानाको एक्लो छोरा कुमार कहिलेकाहीँ घरमा आमालाई फोन गरेर नआत्तिन भनिराख्छन् । तर आफ्नो एक्लो छोरा साउदीको जेलमा रहँदा कसको मन रुँदैन र? ‘बा हल गोरु चराउन जानुहुन्छ, म दिनभर रोएर बस्छु,’ आमा भन्छिन् । ‘घरमा दुईवटा पाडीहरू छन्, हल गोरु छ र केही बाख्रा छन्, यीनैको स्याहार गरेर दिन बित्छ,’ फोनमा सुँक्कसुँक्क गर्दै आमाले लोकान्तरकर्मीसँग दुखेसो पोखिन् ।

एक्लो छोरा साउदीको जेलमा भएपछि बुढा भएका बाआमालाई हातमुख जोर्न बिहान/बेलुका खेती गर्नै पर्ने बाध्यता छ । छोरा आउने आशा र भरोसामा उनीहरूले दिन कटाइरहेका छन् । आमा निम कुमारीले भेटेका जतिलाई आफ्नो छोरालाई सहयोग गर्न अनुरोध गरेकी छन् ।

छोराछोरीको भविष्य डामाडोल

नेपाल फर्किनको लागि ब्लडमनी कुरिरहेका रानाको तीनवटा छोराछोरी छन् । ठूली छोरी सुजाता राना २० वर्षकी भइन् र खर्चको अभावमा उनले एसएलसी पछि पढ्न पाएकी छैनन् । छोरा अञ्जनले पनि एसएलसी गरेर बसेका छन्, अब पढ्न जाने या नजाने टुंगो छैन । सानी छोरी दश वर्षकी भइन्, हाल ६ कक्षामा पढ्दै छिन् । चितवनमा आफ्नो माइती नजिकै कोठा लिएर छोराछोरीको साथमा बसेकी रानाकी श्रीमती अम्बिका रानाले ले यस्तो भवितव्य पर्ला भन्ने सोचेकी थिइनन् । ‘छोराछोरीको पढाई त परको कुरा भयो, अहिले खान बस्न नै समस्या छ,’ लोकान्तरको अफिस आएकी उनले रुँदै भनिन् ।

पैसा जुटाउन श्रीमती अम्बिकाको दौडधूप

आफ्ना श्रीमानले ब्लडमनीस्वरूप तिर्नुपर्ने रकम जुटाउन उनी कहिले काठमाडौं त कहिले चितवन गर्छिन् । सहयोगी हातहरू जुटाउन उनलाई हम्मेहम्मे परेको छ । उनी परराष्ट्र मन्त्रालय गइन्, तर परिणामस्वरूप आश्वासनबाहेक केही पाइनन् । एकपटक आफ्नै जिल्लाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गर्ने अवसर जुटेको थियो उनलाई, तर भट्टराई पनि राज्यले गर्नुपर्ने काम हो भन्दै पन्छिए ।

आफ्नो श्रीमानलाई घर फर्काइदिन भनेर उनी राष्ट्रपति कार्यालय पनि पुगेकी थिइन्, तर कर्मचारीले राष्ट्रपतिसँग भेट्न दिएनन् । ‘एउटा पत्र छाडेर आएँ, तर कर्मचारीहरूले राष्ट्रपतिसमक्ष पुर्‍याए कि पुर्‍याएनन्, थाहा छैन,’ उनले मलिन स्वरमा भनिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ‘कुमार राना बचाऔं’ अभियान पनि चलाइएको छ, त्यसैको भरमा साठी हजार जति उठेको छ । सो अभियानको संयोजन गाउँकै नातेदार पर्ने कृष्ण ढकालले गरेका छन् । उनको दौडधूपमा पनि धेरै खर्च भएको छ । परिवार ऋणमाथि ऋणमा डुबेको छ, तर कुमार राना स्वदेश फर्कन पाउने या नपाउने कुनै टुंगो छैन ।

पठाउने म्यानपावर नै गायव

वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावरले गन्तव्य देशको कम्पनीले कामदारलाई कस्तो व्यवहार गर्छ भन्ने कुरालाई जिम्मेवारीका साथ लिनुपर्ने हो । विना लाइसेन्स कुमारलाई जबरजस्ती गाडी चलाउन भनेको कम्पनीबाट भिसा ल्याइसकेपछि म्यानपावरले उक्त कम्पनीमार्फत् राहत दिन पहल गर्नुपर्ने हो । तर श्रीमती अम्बिकालाई म्यानपावरको नामबाहेक केही थाहा छैन ।

कुमारलाई पठाउने म्यानपावर ‘द गोर्खा म्यानपावर’ हो, त्यतिबेला त्यो सामाखुसीमा थियो । अहिले कहाँ छ अत्तोपत्तो छैन । अम्बिकाले उक्त म्यानपावर बन्द भइसक्यो होला भन्ने अनुमान गरेकी छन् । तर कुमारलाई पठाउने बराल थरका एकजना दलालको भने फोन नम्बर सेभ गरेकी रहिछन् । उसको नाम पनि अम्बिकालाई थाहा छैन ।

नयाँ श्रममन्त्री गोकर्ण बिष्टबाट आशा

अम्बिका श्रम मन्त्रालय गएर मन्त्री गोकर्ण विष्टलाई भेट्न चाहन्छिन् । अहिलेका श्रममन्त्रीले विदेशका जेलमा अलपत्र परेका नेपालीहरूको मुद्दा लडिदिने र फिर्ता ल्याउन पहल गर्ने भनेको समाचार सञ्चारमाध्यमहरूबाट आएपछि उनलाई केही भए पनि आशा पलाएको छ ।

(कुमार रानाका लागि नेपालबाट सहयोग गर्न चाहनेहरूले प्रभु बैंक कलंकी शाखामा अम्बिका राना मगर, कृष्णप्रसाद ढकाल र चित्रकुमार श्रेष्ठको नाममा रहेको संयुक्त खाता नम्बर ०३९०१००१००६५६९०००००१ मा र विदेशबाट सहयोग गर्न चाहनेले राजन गोतामे ९८५१०९३४४५ लाई सम्पर्क गर्न सक्नेछन् ।)  news source lokaantar.com 

 

प्रतिक्रिया दिनुहोस्