
सुलिकोटको तामाखानी उत्खनन् गर्न सांसद दवाडीको प्रस्ताव
दरौँदी ः गोरखाको तामाखानीलाई उत्खनन् गर्न सांसद प्रकाशचन्द्र दवाडीले संसदमा प्रस्ताव गरेका छन् । बिहीबार पेश भएको आर्थिक विधेयकमाथि शुक्रबार टिप्पणी गर्दै दवाडीले सुुलिकोट ७ पाँचखुवादेउरालीमा रहेको तामाखानीलाई उद्योगको रुपमा विकास गर्ने कार्यक्रम नछुटाउन सुझाब दिएका छन् ।
‘आर्थिक विधेयक आयो खुसीको कुरा हो’ सांसद दवाडीले भने ‘मुख्यमन्त्रीज्यू मुस्ताङको यूरेनियम खानी तिर मात्रै होईन गोरखामा रहेको तामाखानीलाई पनि ध्यान दिनुस् । अहिले त्यसै पानीको रुपमा बगेर गएको तामालाई उद्योगको विकास गर्न प्रदेश सरकारले काम अघि बढाओस् ।’ उनले आर्थिक विधेयकमा छुटेको यस खानीलाई तुरुन्तै समेट्न समेत आग्रह गरे । केहि वर्ष पहिले सम्म स्थानीयले तामा उत्खनन गरी कच्चा तामाको रुपमा प्रयोग आएका थिए ।
सांसद दवाडीले तामाखानीसँगै गाउँगाउँमा मोटरबाटो मात्रै नभई पदमार्गको पनि विकास गर्न जोड दिए । ‘हाम्रो यो प्रदेशको मुख्य आम्दानीको स्रोत पर्यटन बन्ने सम्भावना छ’ उनले भने ‘त्यसैले हाम्रा स्थानीय तहलाई मोटरबाटो मात्रै होइन पैदलमार्ग पनि निर्माण गर्न प्रदेश सरकारले आग्रह गरोस् ।’
उनले प्रदेशका अधिकांश जनता कृषि पेशामा आवद्ध भएकोले उनीहरुको पेशालाई सरकारले स्थायित्व दिन उनको सुझाब थियो । उनले कृषिमा विमाको ब्यवस्था सरकारले तत्कालै लागु गर्नुपर्ने समेत बताए ।
तस्बिरमा सांसद दवाडी र तामाखानी भएको ठाउँ ।