| शनिबार, बैशाख ८, २०८१

सेनाले बनाइदियो महेन्द्र माविमा भवन

बैशाख १४, गोरखा नगरपालिकाको एक विद्यालयको चारकोठे भवन नेपाली सेनाले बनाई दिएको छ । तीन महिना समय लगाएर महेन्द्र मावि कुन्दुरको चारकोठे भवन सेनाले बनाइदिएको हो ।

केही महिना अघि सो विद्यालयमा नेपाली सेना र अमेरिकी सेनाले प्यासेफिक टे«निङ गर्दा विद्यालयले उक्त भवन बनाउन प्रस्ताव गरेको थियो । ‘पहिले विद्यालयका प्रधानाध्यापक ज्यूले प्रस्ताव गर्नुभएको थियो’ रणसिंह दलगणका प्रमुख सेनानी, कर्नेल चन्दनसिंह थापाले भने ‘पहिले पनि नेपाली र अमेरिकी सेनाले यहाँ शौचालय, वाइरिङको कामहरु गरेको थियो । अहिले भने हाम्रो सेनाले मात्रै दुई कोठा मर्मत र दुई कोठा पूर्ण रुपमै बनाएका हौँ ।’

सेनाले बनाएको उक्त भवन शुक्रबार एक कार्यक्रम गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । विद्यालय हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर कुमाल र प्रधानाध्यापक गोपालबाबु मरहट्टाले सेनालाई उक्त सहयोगको लागि धन्यावाद दिएका थिए । ‘नेपाली सेनाको यो सहयोगलाई हामीले कहिल्यै विर्सने छैनौँ’ प्रधानाध्यापक मरहट्टाले भने ‘सेनाले बनाइदिएको भवनमा हाम्रा विद्यार्थीहरुले आरामले बसेर पढ्न पाउने भएका छन् ।’ रणसिंह दलगणका सेनाले विद्यालय भवन बनाएर रंगरोगन समेत गरेको छ । कर्णेल थापाले नागरिक र सेनाको सम्बन्ध सुमधुर बनाउने कार्यक्रम अन्तरगत विद्यालय बनाउन सहयोग गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्