गोरखनाथको गुफामा सुरु भयो सवालाख रोट महोत्सव
गोरखा : गोरखाको गोरखनाथ गुफामा १५ औँ सवालाख रोट महोत्सव सोमबारबाट सुरु भएको छ। गुरु गोरखनाथलाई मनपर्ने खानाको रुपमा रोट चढाएर रोट महोत्सव मनाइन्छ। रोट महोत्सव १० दिनसम्म चल्नेछ। सिद्धाश्रम शक्ति केन्द्र गोरखाले हरेक वर्ष सवालाख रोट महोत्सव आयोजना गर्ने गरेको छ। महोत्सव गोरखनाथ गुफाका पुजारीहरूले गोरखनाथको रथलाई पुजाआजा गरेपछि साधकहरूले बोकेर सुरु भएको थियो। गोरखा वसपार्कदेखि गोरखनाथको गुफा तथा गोरखा दरबारसम्म रथ बोकेर पुर्याइएको थियो।
सो रथ यात्रामा जिल्ला भित्रका र बाहिरका भक्तजनहरूको सहभागिता रहेको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका प्रमुख किशोर अकेलाले जानकारी दिए। ‘गुरु गोरखनाथको प्रिय खाद्य वस्तु सवालाख रोट चढाएर उनको भजन कीर्तनसहित महोत्सवको १५ औँ संस्करण सुरु भएको छ’ अकेलाले भने ‘गुरु गोरखनाथलाई सबै भन्दा मनपर्ने खाद्यवस्तु रोट चढाएपछि उनी खुशी हुने र देशमा आउने विध्नवाधा अन्त्य हुने धार्मिक विश्वास छ।’