| आइतवार, अशोज ११, २०७७

दरबार

तीन वर्ष बित्दा पनि शुरु भएन गोरखा दरबार पुनःनिर्माण

माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ। खाल्डामा ठूलाठूला ढुंगा देखिन्छन्। यो परिसरलाई हरियो तारजालीले घेरेर राखिएको छ।

 

यो चित्र भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबारको हो। राजा राम शाहको शासनकालमा बनेको यो दरबारमा आधुनिक नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहसम्मले शासन गरेका थिए। एकीकरणपछि राजधानी काठमाडौँ स¥यो। हनुमानढोकाबाट शासन शुरु भयो।

तीन वर्षअघिको भूकम्पले भत्किएको यो ऐतिहासिक दरबारको पुनःनिर्माण अझै शुरु हुनसकेको छैन। पुनःनिर्माणका लागि यही वैशाख ७ गते जग पूजा गरिए पनि काम शुरु नभएकामा स्थानीयवासी दुःखी छन्। काष्ठमण्डप, धरहरा, रानीपोखरीलगायत सम्पदा पुनःनिर्माणमा भएको ढिलाइ र विवादको शृङ्खला सुनेका गोरखावासी दरबारको अवस्था त्यस्तो नहोस् भन्ने कामना गरिरहेका छन्।

गोरखा बजारको टाकुरामा बनेको कलात्मक दरबार हेर्न दैनिक हजारौँ मानिस आउँछन्। दरबार भग्नावशेषमा परिणत भएको देख्दा खिन्न भएर फर्कन्छन्। ताप्लेजुङबाट गोरखा घुम्न आएकी सुम्निमा लिम्बू इतिहासका पुस्तकमा पढेको दरबार हेर्न डाँडामा चढिन्। दरबार भएको स्थानको अवस्था देखेर आफू आक्रोश लिएर फर्किएको उनले सुनाइन्। राम शाहले गोरखाकै बज्रभैरव मन्दिर रहेको अर्को डाँडा बज्रकोटमा दरबार बनाउन खोजेका थिए। बज्रकोटमा काठ, ढुंगालगायत निर्माण सामग्री लगेर थुपारियो।

बज्रकोटमा लगिएको सामग्री गोरखा बजारको डाँडामा एकै रातमा फर्कन थालेपछि दरबार यहीँ बनाइएको हो भन्ने किंवदन्ती छ। डाँडामा भएको आध्यात्मिक शक्तिको प्रभावले निर्माण सामग्री फर्किएको स्थानीयवासीको विश्वास छ।

प्रा. डा. रमेश ढुंगेल गोरखा दरबार निर्माण भएको साल प्रामाणिक रुपमा नखुलेको बताउछन्। शक संवत् १५३६ अर्थात् विसं १६७१ मा मुरलीधरनारायण मन्दिर र शक संवत् १५५८ अर्थात् विसं १६९३ मा वास्तुकलाले युक्तरामेश्वर मन्दिर निर्माण भएको अभिलेख रहेकाले त्यही सेरोफेरोमा दरबार बनेको अनुमान गर्न सकिने उनी बताउछन्।
‘गोरखा डाँडाको र हाल गोरखा दरबार संग्रहालय रहेको दरबार राम शाहले नै बनाउनुभएको हो, पृथ्वीनारायण शाह नेपाल एकीकरणमै व्यस्त रहनुभयो, उहाँले नुवाकोट र वसन्तपुरको नौतले दरबार भने बनाउनुभएको हो, धेरै मन्दिर र दरबार बनाउने योजना उहाँको निधनका कारण सफल भएन’, उनले भए।

भक्तपुरे शैलीको गोरखा दरबार विसं १९९० को भूकम्पमा पानी छिरे पनि देखिने ठूलो क्षति भएन। विसं २०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएको ७।८ रिक्टर स्केलको भूकम्पले दरबारको पूर्वी भागमा क्षति पुग्यो। क्षति कति भयो भन्ने अनुसन्धानका लागि दरबार भत्काएर खनिएको पुरातत्व विभागले जनाएको छ।

दरबार भत्काएर बनाउने कि नभत्काई बनाउने भन्नेमा लामो समय बहस भएको विभागका प्राविधिक शाखा प्रमुख इञ्जिनीयर सम्पत घिमिरेले बताए। घिमिरेको संयोजकत्वमा बनेको समितिको सिफारिसका आधारमा दरबारको जग कति बलियो छ भन्ने अध्ययनका लागि खाडल खनेर हेरिएको हो। ‘दरबारको जग भूकम्पले कमजोर बनाएकाले फाउण्डेशनदेखि नै पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदन दिएका छौँ, त्यसैअनुसार पुनःनिर्माण हुन्छ, क्षति भएको दुई वर्षसम्म दरबार पुनःनिर्माण गर्न बजेट नै आएन, यसैले ढिला भएको हो, ठेक्का सम्झौता भइसकेकाले अब काम शुरु हुन्छ’, उनले भने।

दरबारमुनिको संरचना अध्ययनका क्रममा ढुंगा फुटेको, पूर्वी भागमा ठूलाठूला प्वाल परेको भेटिएकाले बलियो संरचना बनाउने विभागको तयारी छ। गोरखनाथका पूजारी प्रदीपनाथ योगी खाडल बनाइएको दरबारमा पानी पसेर क्षति हुन सक्ने भएकाले वर्षा अगावै पुनःनिर्माण शुरु गरिनुपर्ने बताउछन्। ‘वर्षाअघि नै खाडललाई जमीनस्तरमा नल्याए पानी पर्दा दह जमेर डाँडा भासिन र भत्कनसक्छ, यो संवेदनशीलता पुरातत्वले हेरेको छैन, पुरातत्वले नसके देशवासीले दरबारको पुनःनिर्माण गर्छन्, देशवासीले नसके बाहिरको सहयोगमा पुनःनिर्माण हुन्छ’, उनले भने।

जमीनको आधार (फाउण्डेशन) राम्रो भएन भने दरबार भासिन्छ भनेर खनिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ। तीन महिनाअघि खनिएको खाडल नपुर्दा पानी जम्ने सम्भावना रहेको स्थानीयवासी पुरुषोत्तम अर्यालले बताए।

अड्डाका कार्यालय प्रमुख हरिप्रसाद भुसाल पुरातात्विक भवनको पुनःनिर्माणमा अन्यजस्तो हतार गर्नुनहुने बताउछन्। ‘विसं १९९० को भूकम्पमा पनि पूर्वतर्फ पानी छिरेर गुफामा चुहिएको थियो, यसले गर्दा दरबारको पूर्वी भाग कमजोर भयो, यो भागलाई बलियो बनाउने गरी पुनःनिर्माण शुरु भएको छ’, उनले भने।

गोरखा दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण हुने गरी पुनःनिर्माण गर्न कार्यालयले ध्यान दिएको कार्यालय प्रमुख भुसालको भनाइ छ। दरबार पुनःनिर्मााणका लागि गत कात्तिक ४ गते पचली शिवाको जेभी निर्माण व्यवसायीसँग सम्झौता भएको छ। दरबार पुनःनिर्माण २०७६ कात्तिक ३ गतेसम्म सम्पन्न हुनुपर्ने छ। ऐतिहासिक दरबार पुनःनिर्माण गर्न रु चार करोड ४७ लाख लागत लाग्नेछ। रासस

प्रतिक्रिया दिनुहोस्