| शनिबार, बैशाख ८, २०८१

सामागाउँ र छेकम्पारमा तीनफिट हिउँ, जनजीवन कष्टकर, हिमपातका कारण एनआरएनको गुप्सी बस्ती निर्माणको काम अबरुद्ध

तीनदिनदेखि लगातार हिउँ परेपछि उत्तरी गोरखाको सामागाउँ, ल्हो, छेकम्पार लगायतका गाउँको जनजीवन अस्तब्यस्त भएको छ ।

बिहिबार साँझसम्म गाउँमा तीनफिटसम्म हिउँ जमेको प्रहरी चौकी सामागाउँलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शुक्रबार बिहानदेखि स्थानीयबासीसंग सम्पर्क भएको छैन । सोलार प्रविधिबाट मात्र चल्ने त्यहाँका सञ्चारका उपकरणहरु तीनदिनदेखिको हिमपातका कारण अबरुद्ध भएका स्थानीय मिङ्मार लामाले बताए । ‘हिजोसम्म सम्पर्क भएको थियो । हिउँ परिरहेको छ भन्थे । अहिले त चार फिट परिसक्यो होला’ हाल काठमाडौंमा रहेका वडा सदस्य मिङ्मार लामाले भने, ‘यस्तो अबस्थामा त गाउँले कोहै पनि बाहिर निस्कन सक्दैनन् । जनजीवन असाध्यै कष्टकर हुनेगर्छ ।’ लामो समयसम्म हिउँले पुरेपछि बारी तथा जंगलको गोठमा रहेका पशुचौपाया पनि मर्न सक्ने उनले बताए ।


लगातारको हिमपातपछि जनजीवन कष्टकर भएको छेकम्पारका निमा लामाले जानकारी दिए । चिसो बढ्न थालेपछि अधिकांश गाउँलेले गाउँ छाडेका छन् । उनीहरु काठमाडौं तथा तीर्थ गर्न धर्मशाला लगायतका ठाउँमा गएको उनले बताए ।

धार्चे ४ लाप्राकको गुप्सीमा एनआरएनएले निर्माण गरिरहेको एकीकृत बस्ती हिउँले ढाकेको छ । हिउँले ढाकेपछि बस्ती निर्माणको काम पनि अवरुद्ध भएको वडा अध्यक्ष राज गुरुङले जानकारी दिए ।

तस्वीर ः मिङ्मार लामा ।

प्रतिक्रिया दिनुहोस्