| बिहिबार, चैत्र ६, २०८१

होम बहादुर राना

गण्डकी गाउँपालिकाका शिक्षकका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा

बैशाख १८, गोरखा ः गण्डकी गाउँपालिकाले गाउँपालिका भित्रका शिक्षक, शिक्षिकाहरुले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नियम बनाएको छ । बैशाख १० गते सबै वडा अध्यक्षहरु, गाउँपालिकाको सबै विद्यालयका प्रधानाध्यापक, र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको संयुक्त बैठक पछि यस्तो निर्णय गरिएको गण्डक गाउँपालिकाका प्रमुख होमबहादुर रानाले जानकारी दिए ।
‘यहि बैशाख १० गते गाउँपालिका भित्रका ४६ वटै विद्यालयका प्रअ र ब्यवस्थापन समितिका अध्यक्षहरुसँग कार्यपालिकाको टिम बसेर यस विषयमा छलफल गरियो’ रानाले भने ‘यसमा अधिकांश विद्यालयका अध्यक्षज्यूहर प्रअज्यूहरुले सकरात्मक धारणा राख्नु भयो । उहाँहरुले गाउँपालिकाको यो अभियानलाई सहयोग गर्ने बताएपछि लगतै गाउँकार्यपालिकाको १७ औँ बैठकले त्यसलाई अनुमोदन गरेर कार्यान्वयनमा ल्याएको छ ।’ रानाका अनुसार गण्डकी गाउँपालिका भित्रका ४६ वटै विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरु स्थानीय नै रहेका छन् ।
नियम नमाने सेवा सुविधा रोक्का
गाउँपालिकाले गरेको उक्त निर्णयको पालना नगर्ने विद्यालय र शिक्षकको सेवा सुविधा रोक्का गर्ने निर्णय भएको अध्यक्ष रानाले बताए । ‘कसैले यो निर्णय मानेन भने पाउने सेवासुविधा रोक्का गरिनेछ भनेर प्रअ र ब्यवस्थापन समितिका अध्यक्षहरुकै रोहबरमा निर्णय गरेका छौँ’ उनले भने ‘हामीले विद्यार्थीहरु भर्ना दर मात्र बढाउन लागेका होइनौँ । अब विद्यालयको गुणस्तर पनि बढाउने अभियानमा लागेका छौँ । यसबारे छलफल सुरु गरिसकेका छौँ ।’
अध्यक्षकै छोरा सामुदायिक विद्यालयमा
गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले अफ्नो छोरा विवेक रानालाई निजी विद्यालयबाट भिकेर सरकारी विद्यालयमा भर्ना गरेका छन् । चितवनको एक निजी विद्यालयमा अध्ययनरत छोरालाई अध्यक्ष रानाले आफ्नै गाउँपालिकाको भद्रकाली मावि भूम्लिचोकमा ल्याएर भर्ना गरेका हुन् । ‘हामीले सरकारी विद्यालयलाई विश्वास गर्ने वातावरण बनाउन लागेका हौँ’ रानाले भने ‘सरकारी विद्यालयमै क्यापेबल शिक्षकहरु हुने अनि यहिँकै विद्यार्थी धेरै फेल हुने, नजान्ने हुने ? अब हामीले सुधारका लागि काम सुरु गरिसक्याँैँ । त्यसैले आफ्नै छोरालाई बोर्डिङ छुटाएर सामुदायिक विद्यालयमै भर्ना गरेँ र अभियानको रुपमा लैजान अरुलाई पनि प्रस्ताव गरेँ ।’
गाउँपालिकामा अध्यापनरत शिक्षक शिक्षिकाहरुका छोराछोरी अधिकांश निजी विद्यालयमा अध्ययन गर्ने तथ्याङ्क पाएका रानाले उक्त अभियान सुरु गरेका हुन् । ‘शिक्षक शिक्षिकाहरुले आफुले आफुलाई नै विश्वास गर्न जरुरी छ’ उनले भने ‘नत्र, आफु नै शिक्षक हुने अनि आफ्ना छोराछोरीलाई अन्यत्रै लगेर भर्ना गर्ने ? यता आफुले पढाएको विद्यार्थी सधैँ फेल, उता आफ्नो छोराछोरी राम्रो नजिताका साथ पास हुँदा रमाउने यो त भएननी ।’

प्रतिक्रिया दिनुहोस्