| आइतवार, अशोज ११, २०७७

आरुघाट र आर्खेतमा मात्रै १४ अर्व ७९ करोड मुआब्जा बितरण, घरगोठ र बोटबिरुवाको मुआब्जा बितरणको अन्तिम तयारी

राष्ट्रिय गौरबको बुढीगण्डकी जलविद्युत आयोजनाको आरुघाट र आर्खेत क्षेत्रमा रु १४ अर्व ७९ करोड ७६ लाख ९७ हजार मुआब्जा बितरण भइसकेको छ ।

२३ हजार तीन सय ३१ रोपनी जग्गाको मुआब्जा जग्गा अधिकरणमा परेकाहरुको खातामा गइसकेको बुढीगण्डकी जलविद्युत आयोजना, पुनर्बास तथा पुर्नस्थापना ईकाईका प्रमुख कृष्णबहादुर कार्कीले बताए ।

सात हजार आठ सय ३८ जना जग्गाधनीको खातामा पैसा निकासा भएको उनले बताए ।

अहिलेसम्म सबैभन्दा धेरै करिब १५ रोपनी जग्गाको नौ करोड रुपैयाँ एउटै ब्यक्तिले बुझेका छन् । आयोजनाले बजार क्षेत्र आरुघाट र आर्खेतको मुआब्जा केही समयअघि मात्रै तोकेर बितरण थालेको थियो ।

मुआब्जा थोरै भयो भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले अहिले धमाधम पुर्जा बुजाएर पैसा लिएका छन् । आरुघाट क्षेत्रको करिब तीन हजार रोपनीको मात्रै मुआब्जा दिन बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । सरकारी विद्यालय, स्वास्थ्य चौकी लगायत संस्थाको मुआब्जा दिने योजना भने आयोजना कार्यालयको छैन । बस्ती पुनर्बास गरिएको ठाउँमा ती संरचना पनि स्थानान्तरण गर्ने योजना रहेको ईकाई प्रमुख कार्कीले बताए ।

आयोजना निर्माण स्थलका लागि पहिलो चरणमा करिब ५८ हजार रोपनी जग्गाको मुआब्जा दिनुपर्ने आयोजना प्रमुख कृष्णबहादुर कार्कीले बताए । अधिकरणमा भने एक लाख ३० हजार रोपनी पर्नेछ । मुआब्जा दिइएका बाहेक सरकारी जग्गा धेरै आयोजना स्थलमा पर्ने भएको हो । ‘यो आर्थिक वर्ष मुआब्जा बितरण सकिन्छ’ आयोजना प्रमुख कार्कीले भने ‘धादिङतर्फ पनि करिब १७ अर्ब रुपैयाँ निकासा भईसकेको छ ।’
गोरखातर्फ आरुघाट आर्खेत क्षेत्रको मुआब्जा बितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको ंउनले बताए । ‘अब हामी घर गोठ, बोट बिरुवाको बजार क्षेत्रबाट लगत लिन सुरु गछौँ’ उनले भने । आरुघाट गाउँपालिकाले घरगोठको लगत संकलन छिटो गरेर मुआब्जा दिन पत्राचार गरिसकेकाले छिट्टै प्राविधिक टोली पठाउने निर्णय भईसकेको छ ।
यसअघि मुआब्जा बितरण भएको ठाउँमा घरगोठको मुआब्जा बितरणको अन्तिम तयारी भईरहेको सिउरेनीटार स्थित आयोजना कार्यालयले जनाएको ंछ ।

ह्रासकट्टी नहुने संभावना धेरै रहेको आयोजनाले जनाएको छ

घरको ह्रासकट्टी गरेर मुआब्जा दिने वा नगरी दिने भन्ने विषयमा अझै टुङ्गो नलागेकाले बितरणमा ढिलाई भएको आयोजना प्रमुख कार्कीले बताए । ‘उर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई ह्रासकट्टी नगर्न सुझाब सहितको पत्र पठाएपछि अर्थले आयोजनाबाट राय पनि लिइसकेको छ’, आयोजना प्रमुख कार्कीले भने ‘हामीले जवाफ पठाइसकेका छौँ, अर्थमन्त्रालयबाट निर्णय भएपछि घरगोठ र बोटबिरुवाको मुआब्जा बितरण सुरु हुन्छ ।’ ह्रासकट्टी नहुने संभावना धेरै रहेको आयोजनाले जनाएको छ । आउँदो ंअसार मसान्तअघि घरगोठको मुआब्जा पनि बितरण गरिसक्ने लक्ष्य रहेको आयोजना प्रमुख कार्कीले बताए ।

मुआब्जा बितरण ढिलो हुँदा आयोजनाका लागि पेट्रोलियम पदार्थबाट संकलित रकम र सरकारले छुट्याएको बजेट पूरै खर्च हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्