| आइतवार, कार्तिक १८, २०८१

प्रदेश ४

प्रदेश ४ को बजेट बक्तव्यमा गोरखाका १० योजना

दरौँदी ः मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकारले पहिलो पटक बजेट बक्तब्य जारी गरेको छ । प्रदेश नं. ४ ले बुधबार जारी गरेको बजेट बक्तव्यमा गोरखाका केही योजना समेत सम्बोधन भएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेट बक्तब्यमा पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै उर्जालाई दोस्रो, कृषिलाई तेस्रो, उद्योगलाई चौथो र भूतिक पूर्वाधारलाई पाँचौं प्राथमिकताको क्रममा राखिएको छ ।
बजेट बक्तव्यमा गोरखा बजारलाई सांस्कृतिक बजार घोषणा गर्नेदेखि पालुङ्टार बिमानस्थल पुनसंचालन गर्ने सम्मका योजना समेटिएका छन् । त्यस्तै बुढीगण्डकी डुबान क्षेत्र आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनेदेखि चुमनुब्रीको पर्यटन गुरुयोजना तय गर्नेसम्मका योजना तय भएका छन् ।
‘पर्यटकीय गन्तव्य विस्तार गर्न, देशको राजधानी र जिल्लासंगको हवाइ सम्पर्कलाई पुनस्थापना एवं विस्तार गर्न गोरखाको पालुङटार, मनाङको हुम्डे, बाग्लुङको ढोरपाटन विमानस्थल पुनसञ्चालनमा ल्याउन नागरिक उड्ययन प्राधिकरणसंग समन्वय गर्ने व्यबस्था मिलाएको छु’ बजेट बक्तव्यमा भनिएको छ ‘गोरखाको मनास्लु संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्रलगायत पदमार्गलाई प्रवद्र्धन गर्ने, विभिन्न तीनसय वटा गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने कार्यक्रम सञ्चालनका लागि कार्यविधि तयार गर्ने व्यबस्था मिलाएको छु ।’ चुमनुब्री उपत्यका, ढोरपाटन, मनाङ, कवचेताल, देवचुली, बरचुली, महाभारत क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न अध्ययन तथा गुरुयोजना तयारगर्ने व्यबस्था मिलाएको बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।त्यस्तै प्रदेश नं. ४ को बजेट बक्तव्यमा प्रसिद्ध मनकामना मन्दिर लगायतका मन्दिरहरुको प्रोफाइल तयार गर्ने पनि उल्लेख छ । ‘कालीगण्डकी करिडोरमा रहेका देवघाट, त्रिवेणीघाट, गलेश्वर र मुक्तिनाथलाई चारधामको रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न अध्ययन गर्ने व्यबस्था मिलाएको छु’ बजेट बक्तव्यमा भनिएको छ ‘प्रसिद्ध धार्मिकस्थल मनकामना, इशानेश्वर महादेव, ढोरबराह, छाव्दी बराह, विन्धवासिनी, अलमदेवी, बाग्लुङकालीका, मौलाकालीका लगायत मठमन्दिर, गुम्बा तथा मस्जित एवं ऐतिहासिक स्थलहरुको प्रोफाइल तयार गरी पर्यटनको विकास गर्ने व्यबस्था मिलाएको छु ।’
तर प्रसिद्ध गोरखकाली मन्दिर, गोरखनाथ मन्दिरको भने नाम उल्लेख गरिएको छैन ।आँबुखैरेनी गोरखा सडकलाई स्तरोन्नती गर्ने पनि बजेट बक्तव्यमा भनिएको छ ।‘प्रदेशभित्रका मुख्य लोकमार्ग र विकासोन्मुख सहरसंगको कनेक्टिभिटी व्यबस्थि तगर्न आँबुखैरेनी गोरखा, डुम्रे बेशिशहर चामे, दमौली भोर्लेटार पोखरा, खैरेनी भिमाद मालढुंगा बेनी सडकलाई चारलेनमा स्तरोन्नतीका लागि नेपाल सरकारसंग समन्वय गरी आवश्यकता अनुसार विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार पार्न २५ लाख रुपियाँ बजेट बिनियोजन गरेको छु’ बजेट बक्तव्यमा भनिएको छ ।त्यस्तै बुढीगण्डकी जलविद्युत आयोजनाको जलाशय भन्दा माथिको क्षेत्रको आर्थिक विकासका लागि पूर्वाधार निर्माणको अध्ययन गर्न १० लाख रुपियाँको व्यबस्था गरिएको छ । गोरखाको एउटा सिंगो योजनाका लागि अलग्गै बजेट बिनियोजन गरिएको यो एउटा मात्र शीर्षक रहेको छ । बजेट बक्तब्यमा भनिएको छ ‘डुम्रे भन्सार र बाग्लुङको बुर्तीबाङ, स्याङ्जाको वालिङ र गोरखाको पालुङटारलाई केन्द्र मानी मस्र्याङ्दी आसपासका क्षेत्रलाई स्मार्टसिटीको रुपमा विकास गर्न तथा गोरखा बजारलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने कार्यक्रमलाई सहजीकरण गर्ने व्यबस्था मिलाएको छु ।’ तर पालुङ्टार ७ मा प्रदेश नं. ४ स्तरको औद्योगिक क्षेत्र बनाउने बिषयमा भने बजेट बक्तव्य मौन छ । ‘नेपालको ऐतिहासिक महत्व झल्किने गोरखाको लिगलिगकोटमा ऐतिहासिक संग्रहालय स्थापनाका लागि अध्ययन गर्ने व्यबस्था मिलाएको छु’ बजेट बक्तव्यमा उल्लेख छ । नेपाल एकीकरणको आधारभूमि गोरखा बजारको ऐतिहासिकता विकासको बिषयलाई पनि बजेट बक्तव्यमा सम्बोधन गरिएको छैन ।त्यस्तै प्रदेश नं. ४ को बजेट बक्तव्यमा प्रथम सहिद लखन थापाको योगदानलाई भने स्मरण गरिएको छ ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको गौरव उच्च पार्न प्रदेशभरका उत्कृष्ट व्यक्ति एवं संस्थालाई सम्मान गर्न प्रथम सहिद लखन थापाको नाममा सहिद लखन थापा पुरस्कार स्थापना गर्ने व्यबस्था मिलाएको छु’ बजेट बक्तव्यमा भनिएको छ ‘राष्टू र देशको शान राख्ने व्यक्ति र संस्थालाई कार्यावधिको आधारमा नगद पुरस्कार प्रदान गर्ने व्यबस्था मिलाएको छु ।’ तर विश्वमा गोर्खा भनेर चिनाउने भीसी गजे घले, भीसी थमन गुरुङ, भीसी लक्ष्मण गुरुङ तथा भीसी भानभक्त गुरुङलाई सम्बोधन हुने खालका कार्यक्रम भने ल्याइएको छैन ।
भावी पुस्तालाई गोरखा भूकम्पको स्मरण गराउन बारपाकमा विशेष प्रकारको भूकम्प स्मृति स्मारक एवं संग्रहालय निर्माण गर्न आबश्यक व्यबस्था मिलाइने बजेट बक्तव्यमा उल्लेख । तर प्रदेश सरकारले गर्ने भनेर बजेटमा आए पनि सो काम यसअघि नै सुरु भइसकेको छ ।बजेट वक्तव्यमाथि टिप्पणी गर्दै बिहिबारको प्रदेश सभा बैठकमा गोरखाका सांसद प्रकासचन्द्र दवाडीले गोरखा २ को ख लाई सम्बोधन हुने गरी कुनै पनि योजना नल्याएको भन्दै आपत्ति जनाए । ‘पालुङ्टार सिरानचोक भच्चेक सडक, ११ किलो बारपाक सडक, घ्याम्पेशाल ताकु सौरपानी सडकलाई हरित सडक बनाउने योजनालाई जोडदार रुपमा राखे पनि यसलाई बजेट बक्तव्यमा छुटाइयो’ सभामा बोल्दै उनले भने ‘सुलीकोटको तामाखानी उत्खननको व्यबस्था मिलाउने बारे प्रस्ताव राखे पनि पूर्वाग्रहपूर्वक योजनामा छुटाइयो । प्रत्यक्ष रुपमा जनता लाभान्वित हुने कार्यक्रम भन्दा पनि कनिका छरेजस्ता योजना मात्र राखियो ।

प्रतिक्रिया दिनुहोस्