
गोरखामा ठेकेदारको सिन्डिकेट, नगर उप-प्रमुखसमेतलाई दुर्व्यवहार
गोरखा ः पालुङ्टार नगरपालिकाको कार्यालयमा शुक्रबार ठेक्का फर्म दर्ता गर्न गएका दुई व्यबसायीलाई निर्माण व्यवसायी संघका अध्यक्ष र महासचिवकै रोहबरमा गुण्डाहरुले चारघण्टासम्म बन्धक बनाएर कुटपिट गरेको पिडित ब्यबसायीहरुले बताएका छन् । ठेक्का छेक्न बसेकाहरुले दुईलाख रुपियाँ फिरौती समेत मागेको पीडित हरि भट्टराई र राम थापाको भनाइ छ ।
नगरपालिका कार्यालयभित्र भएको गुण्डागर्दी नियन्त्रण गर्न पटक पटक गरेको आग्रह अटेर गरी प्रहरी मुक दर्शक भएर बसेको नगरपालिकाकी उपमेयर पम्फा बसेलको आरोप छ ।
संघका अध्यक्ष र महासचिवकै रोहबरमा घटना भएको पीडितहरुको गुनासो छ । ‘बिहान सवा १० बजे हामीले हाम्रो बोलपत्र दर्ता गरेका थियौं । संघका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारीकै रोहोबरमा २०, २५ जना गुण्डाहरुले साँढे १० बजेदेखि दुईबजेसम्म हामीलाई नगरपालिका कार्यालय नजिकैको होटलमा थुनेर राखे’ वल्र्डवाइड कन्स्ट्रक्शनका प्रतिनिधि राम थापाले भने ‘हामीसित समन्वय नगरी किन टेण्डर दर्ता गरिस् भनेर कुटपिट गरे । के के भने, के के गरे, भनेर साध्यै छैन, सम्झेर नि साध्यै छैन । यस्तो दुव्र्यबहार जीवनमा पहिलोचोटी भोगें ।’ व्यबसायीको संरक्षण गर्ने संघले नै यस्तो गुण्डागर्दीको नेतृत्व गरेको भन्दै उनले आलोचना गरे ।
निर्माण व्यबसायी संघका अध्यक्ष श्रेष्ठले हातपात नगरेको तर महासचिव भण्डारीले धेरै पटक लम्कीझम्की गरेको उनले बताए । ‘अध्यक्षले त ठेक्का फिर्ता गर्न दबाब मात्र दिएका हुन्, तर महासचिवले चारपाँच चोटी नै लम्कीझम्की गरे’ उनले भने ‘अरु केटाहरुले धेरै पटक कुटे । फोन उठाउन पनि दिएनन् । खाजा खान पनि पाइएन, दिसापिसाब गर्न निस्कन पनि पाइएन ।’ बन्धकमुक्त भएपछि गुण्डागर्दीको नेतृत्व गरिरहेका राजिन सुनार र खुशी तामाङको नाममा किटानी जाहेरी दिएको उनले बताए । नगरपालिका कार्यालयले वडा नं. ५ को सडक निर्माण गर्न ९० लाख रुपियाँको, वडा नं. ९ को वडा कार्यालय भवन निर्माण गर्न ७२ लाख रुपियाँको र वडा नं. ८ मा सडक निर्माण गर्न २५ लाख रुपियाँको टेण्डर आव्हान गरेको थियो ।
ठेक्का छेक्नेहरुले उपमेयर पम्फा बसेल माथि पनि दुव्र्यबहार गरेका थिए । ‘शुक्रबार टेण्डर फर्म दर्ता गर्ने अन्तिम दिन थियो । मेयरसाब नहुनुभएकाले निमित्तको काम मैले नै गरिरहेको थिएँ’ उपमेयर बसेलले भनिन् ‘दिनभरि घटना भयो, दुईबजेतिर हरि भट्टराई र राम थापा रुँदै मेरो कार्यकक्षमा आउनु भयो । त्यहाँ भएको घटनाको बिरोध गरें । त्यही भएर केटाहरु ममाथि पनि खनिए । भन्न हुने नहुने अपशव्द बोले । असह्य हुने गरी दुव्र्यबहार गरे ।’ त्यति घटना हुँदासम्म पनि आफूसंगै रहेका इलाका प्रहरी कार्यालय पालुङ्टारका इञ्चार्ज इन्स्पेक्टर मुकदर्शक भएर बसिरहेका उनले बताइन् । ‘घटना नियन्त्रण गर्न पटक पटक अनुरोध गर्दा पनि प्रहरीले भीड हटाएनन्, चुँक्क एकशव्द पनि बोलेनन् । यस्तो प्रहरीको सेवाबाट के सुरक्षाको प्रत्याभूति हुन्छ ?’ उनले आक्रोश व्यक्त गरिन् ।
बन्धक बनाउने गुण्डाहरुले दुईलाख रुपियाँ फिरौती मागेको अर्का पिडित हरि भट्टराईले बताए । ‘अध्यक्ष र महासचिवले कति घटाएर दर्ता गरेका छौं भनेर सोधे । सिलबन्दी गरेको गोप्य फर्मको दररेट पनि भन्न बाध्य बनाए’ उनले भने ‘त्यसपछि केटाहरुले दुईलाख रुपियाँ फिरौती माग्न थाले । हामीसंग नगद थिएन । यताउता फोन गर्न पनि दिएनन् । पैसा कहाँबाट पाउने ? हामीले दिएनौं । अन्तिमसम्म १५ दिनदेखि ठेक्का छेक्न बस्दा होटलमा खाएको ५० हजार रुपियाँ बेहोर्नुपर्छ भनेर माग्दै थिए ।’ ज्यानमार्नेसम्मको धम्की आएको उनले बताए ।
संघका अध्यक्ष बाबुराम श्रेष्ठले भने सामान्य भनाभन र धकेलाधकेल मात्र भएको दाबी गरेका छन् । ‘कसैको बोल्ने शैली नरम होला, कसैको कडा होला तर चर्चा भएजस्तो नराम्रो घटना भएको छैन’ उनले भने ‘हरि भट्टराई र राम थापा पनि गैरब्यबसायी हुन् । उनीहरुले अर्काको फर्म ल्याएर दर्ता गर्न आएका रहेछन् । आफूले ठेक्का पाउँछु भनेर आशा गरेका केटाहरु आक्रोशित हुँदा सामान्य घटना भएको होला ।’ उनीहरुले पनि चारप्रतिशतको बार्गेनिङ गरेको भन्दै श्रेष्ठले प्रहरीले छलफलमा बोलाएकाले छलफलमा जाने बताए ।
किटानी जाहेरी दिइएकाहरुलाई छलफलका लागि शनिबार बिहान १० बजे बोलाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘छलफलका लागि प्रहरीले बोलाएको छ । त्यसपछि थप अनुसन्धान हुनसक्छ’ उनले भने।