| शुक्रबार, बैशाख ७, २०८१

पालुङ्टार

पालुङ्टारको संयुक्त आवास निर्माणको काम रोकियो, के हुन्छ २ करोड खर्च ?

दरौँदी ः भूकम्पले घरबास गुमाएका र केही सुकुम्बासीहरुलाई समेत राख्ने गरेर पालुंटारमा निर्माण सुरु भएको संयुक्त आवास गृहको काम रोकिएको छ । पुननिर्माण प्राधिकरण मार्फत निर्माण सुरु भएको आवास गृह निर्माणको काम पनि उहि प्राधिकरणले नै रोकेको हो ।

आवास भवन बनाउन नापनक्सा गरी निर्माणको पहिलो चरणको काम भइरहँदा आफैँले थालनी गरेको काम प्राधिकरणले रोकेको पालुंटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिईन् । ‘पुननिर्माणले नै काम सुरु गरेको हो’ बसेलले भनिन् ‘अहिले उसले माथिबाटै रोकेको जनाएको छ । पहिले निर्णय विनै काम सुरु भएको रहेछ । बजेटका कुराहरु कसरी मिलाए । अहिले कानुनी प्रक्रिया अनुसार भएन भनेर रोकिएको भनेर जानकारी आएको छ ।’ दुई करोड रुपैँया खर्चेर जग खन्ने काम समेत भइसकेको आवास भवनको काम रोकिएपछि नगरपालिकाले उक्त काम र ठाउँको सदुपयोग गर्ने निर्णय गरेको छ । ‘दुई करोड रुपैँया खर्च गरेर निर्माण सामाग्री झारेको छ, जग खनेको छ’ उनले भनिन् ‘आवास भवन नबन्ने हो भने यहाँ निकट भविष्यमा बन्ने कृषि क्याम्पसले प्रयोग गर्ने गरेर उक्त कामको सदुपयोग गर्न हामीले निर्णय गरेर प्राधिकरणलाई जानकारी गराएका छौँ ।’

१५ करोड ५१ लाख रुपैँया खर्चेर बन्न लागेको उक्त भवन ३० महिना भित्र सम्पन्न गर्ने भनेर सम्झौता भएको थियो । पुननिर्माण प्राधिकरण प्राधिकरणले २०७३ साउन २४ गते स्वीकृत गरेको बहुवर्षीय खरीद गुरुयोजना अनुसार आवासगृह निर्माणका लागि श्यामसुन्दर निर्माण सेवासँग सम्झौता गरेको थियो । प्राधिकरणले गतवर्षको फागुनको पहिलो हप्ता पत्रलेख्दै काम रोक्न निर्देशन दिएपछि २ करोड रुपैँया खेर गएको छ ।

‘काम रोक्न भन्ने ब्यहोराको पत्र अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट आयो’ शहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखाका प्रमुख रोशन श्रेष्ठले भने ‘सोही पत्र अनुसार हामीले ठेकेदारलाई काम रोक्न भनेर भनेका छौँ ।’

काम रोकिएपछि भुक्तानी माग

काम रोकिएको जानकारी पाएपछि निर्माण कम्पनीले अहिले सम्म भएको कामको मुल्याङ्कनको आधारमा भुक्तानी माग गरेको छ । ‘काम रोक्ने निर्देशन आएपछि हामीले पनि काम रोक्न भनेर निर्माण कम्पनीलाई भन्यौँ’ प्रमुख श्रेष्ठले भने ‘उसको लगानी भइसकेको छ । उसले अहिले सम्म कति लगानी भएको छ त्यो रकम भुक्तानी दिनुपर्ने भनेर माग गरेको छ ।’ संयूक्त आवास भवन दुई वटा क्लस्टरमा निर्माण सुरु भएको थियो । आवास गृहको भवन दुई वटा बन्ने गरी स्टमेट भएको थियो । दुई वटा भवनमा एकसय ३० परिवार बस्न मिल्ने गरी निर्माण सुरु भएको आवास भवनको निर्माणको काम रोकिएको हो । भवन निर्माणका लागि १२ रोपनी जग्गा पालुङटार नगरपालिका च्याङ्लीमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्