| सोमवार, कार्तिक १०, २०७७

ब्यवशायीलाई ब्याजमा सहुलियत दिन उद्योग बाणिज्य संघको आग्रह

सरकारले घोषणा गरेको बन्दाबन्दी लामो समय भएको र अझै अनिश्चित रहेको निश्कर्ष सहित गोरखा उद्योग बाणिज्य संघले ब्यापारी ब्यवशायीलाई ब्याजमा सहुलियत दिन सरकार सँग माग गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै संघका अध्यक्ष जिबनज्योती श्रेष्ठले भने ‘५० लाख सम्म ऋण लिएर ब्यवशाय गरेका ब्यवशायीलाई राहत दिन ब्याजमा ५० प्रतिशत सम्म छुट हुनुपर्छ ।’
५० लाख भन्दाबढि रकम लिएकाहरुलाई ३३ प्रतिशत छुट, १० लाख सम्म बिना धितो कर्जाको ब्यवस्था गर्ने नीति राज्यले लिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । लकडाउन खुलेलगत्तै ब्यापारी ब्यवशायीमा नगदको अभाव हुने, तरलता समस्या समाधानका लागि ऋणिहरुको निवेदनको आधारमा स्विकृत सिमाको २० प्रतिशत सरल प्रक्रियामा कर्जा थपिदिन संघले माग गरेको छ । यातायात सहित अन्य ब्यवशायीले कर्जाको किस्ता रकम लकडाउन खुलेपछि मात्रै तिर्ने ब्यवस्था हुनुपर्ने, घरभाडा लिने र दिने स्पष्ट निती हुनुपर्ने, निर्माणको काममा समय अवधी थप्नुपर्ने, पर्यटन ब्यवशायमा पर्न गएको असरलाई विषेश प्राथमिकता दिनुपर्ने लगायत माग संघले राखेको छ ।
भ्याटको दर १० प्रतिशत कायम गर्नुपर्ने, लकडाउनले बन्द भएको ब्यवशायलाई पुन सुचारु गर्न ब्याजमा ७ प्रतिशत छुट दिनुपर्ने, स्थानीय तहले चालु वर्ष ब्यवशाय र घरभाडा कर नलिने ब्यवस्था हुनुपर्ने माग गरिएको छ । बिभिन्न १५ बुँदे माग सरकारलाई पठाउँदै उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जिवनज्योती श्रेष्ठले भने ‘लकडाउनका बेला ब्यापारी ब्यवशायीले सरकारलाई सहयोग गरिरहेको छ, आम नागरिकलाई पनि खाद्यान्न, औषधी अभाव हुन दिएको छैन, ब्यवशायीको समस्या राज्यले बुझ्नुपर्छ ।’ ज्ञापनपत्र बुझेपछि प्रजिअ पौडेलले तत्काल उक्त पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्