पुनर्निर्माणमा आएका सुर्खेतका मजदुर गोरखामा कुटिए
मजदुरीका लागि गोरखा आएका सुर्खेतका दुई मजदुर कुटिएका छन्।
भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम भइरहेका गोरखा नगरपालिका–३ नारेश्वर दम्सुरीमा पुनर्निर्माणको काममा मजदुरीका लागि आएका सुर्खेत चिङ्गाड गाउँपालिका–३ का सन्तबहादुर घर्ती र उनका छोरा सुरेन्द्र घर्तीलाई स्थानीय युवाहरुले बिनाकारण कुटेको सन्तबहादुरले जानकारी दिए। साँझ समयमा दाल, तेल र नुन किन्न गएको बेला भट्टी सञ्चालन गर्दै आएका दिनेश भट्ट लगायत पाँच जनाले मराणासन्न हुने गरी कुटेको घर्तीले बताए। अहिले घर्तीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ।
‘‘मदिरा सेवन गरेका दुई जनाले म हिँडिरहेको ठाउँमा आई ओई के हिरो बनेको भनेर धम्क्याउँदै हातपात गरे’ सन्तबहादुरले भने ‘म जसोतसो त्यहाँबाट फुत्किएर भागें। तर, अलि पर पुग्दा अरु तीन जना आएर घेरा हाली मराणासन्न हुने गरी कुटे।’ त्यसपछि बल्लतल्ल कोठामा पुगे पनि काटेर फालिदिन्छु भन्दै धम्की दिएको घर्तीले बताए। घर्तीले भने, ‘म त्यो ठाउँमा कसरी काम गर्ने, आफ्नै देशमा पनि मजदुरी गर्न अप्ठेरो भएको छ।’ कुटपिटपछि स्थानीय प्रहरी चौकीमा निवेदन दिएर उपचारका लागि चितवन आएको उनले बताए। निवेदन दिए पनि कुटपिट गर्ने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ नगरी सहायकलाई मात्र पक्राउ गरेको उनको गुनासो छ। गाउँमा डकर्मी काम गरेर गुजरा गर्दै आएका उनी पाँच महिनादेखि गोरखामा मजदुरी गर्दै आएका छन्।