
पालुङ्टारका मेयरले तथ्याङ्क मागे, सडकका हाकीमले दिएनन्
दरौँदी ः पालुङ्टार नगरपालिकाको कार्यालयले २०७५ बैशाख १२ गते एघारा किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका प्रमुखलाई सम्बोधन गरेर नगरपालिका क्षेत्र भित्र उक्त कार्यालयबाट सञ्चालन भएका परियोजनाहरुको विवरण पाउँ भनी पत्र लेख्यो । पत्र पठाएको केही दिनमा पनि माग गरेको विवरणहरु उपलब्ध नभएपछि नगरप्रमुख दिपकबाबु कँडेलले नगरपालिका कार्यालयका प्राविधिकहरु लाई सडक आयोजना कार्यालयमै पठाएको बताए । ‘मैले बैशाख १३ गते कार्यालयको लेटरहेडमा पत्र लेखेर विवरणहरु माग गरेको थिएँ’ प्रमुख कँडेलले भने ‘मैले अनावश्यक र कार्यालय प्रमुखले दिन नमिल्ने, दिन नसक्ने कागजात मागेकै छैन ।
उहाँ किन अटेर गरिरहनु भएको छ ? मैले त पालुङ्टार नगरपालिका क्षेत्र भित्र पर्ने सडक निर्माण तथा मर्मत योजनाहरुको विवरण तथा ती योजनाहरुसँग सम्बन्धीत बोलपत्रका कागजातहरु उपलब्ध गराइदिई सहयोग गरिदिनुहोला भनेर पत्र पठाएको थिएँ ।’ नगरपालिका भित्र भएको कामकारबाहीहरु नगरपालिकाले अनुगमन गर्न सक्ने भन्दै प्रमुख कँडले पारदर्शीता र कामको सुदृढिकरणको लागि आफुले विवरण माग गरेको बताए । ‘यो नगरपालिका भित्र भएका कामहरु कहाँ कसरी सञ्चालन भइरहेका छन् जान्न पाउने सबैको अधिकार हो, त्यो माथी पनि जिम्बेवार जन प्रतिनिधीले माग्दा नदिने ?’ उनले प्रश्न गरे । यता आयोजना प्रमुख अमृतमणि रिमालले भने नगरपालिकाले यो यो शिर्षकको यो यो चाहियो भन्नु पर्ने बताए । ‘कुन शिर्षकको के कुरा चाहिएको हो भन्नु प¥यो’ उनले भने ‘ केही तथ्याङ्कहरुबारे मैले जानकारी गराएको छु । के खोज्नु भएको हो मैले बुझ्दिन ।’ प्राविधिकहरुलाई सडक आयोजना कार्यालयमै पठाउँदा विवरण नदिएका आयोजना प्रमुखले हुलाक मार्फत विवरण पठाएको भन्दै टार्ने गरेको मेयर कँडेलको आरोप छ ।
यता सडक आयोजना कार्यालयका प्रमुख रिमालले दरौँदी सँगको कुराकानीमा पनि नगरपालिका भित्र मौवाटार( पौवाटार सडक, प्याउली खोला कल्बर्ट लगायतका योजना रहेको भन्दै पन्छिए । कुन योजनाको कहिले टेण्डर भएको हो र अहिले सम्मको प्रगती के छ कुन योजना किन ढिलो सञ्चालन भएको भनेर जान्न खोजेको नगरप्रमुख कँडेलको भनाई छ । ‘कुन कुन ठाउँमा कार्यक्रम भएको छ, कुनै योजनाहरु ढिला भएका छन् भने किन ढिला भयो नगरपालिकाले त्यसलाई छिटो गर्न सहजीकरण गर्न सक्छ’ आफै इन्जिनियर समेत रहेका प्रमुख कँडेलले भने ‘हाकीम सापलाई विवरण दिन किन गाह्रो भएको हो थाहा छैन । मेरो उदेश्य भनेको काम समयमै सम्पन्न गर्ने र पारदर्शी हुने भन्ने हो ।’ नगरप्रमुखले आयोजना प्रमुखले विवरण उपलब्ध नगराएपछि सडक विभाग काठमाडौँका महानिर्देशकलाई बैशाख २० गते लेखेको बताए । ‘यता हाकीम सापले विवरण नदिएपछि मैले विभागमै महानिर्देशकलाई सम्बोधन गरी पत्र लेखेर विवरण दिन सहयोग गर्न आग्रह गरेको छु’ उनले भने । नगरप्रमुख कँडेलले हस्ताक्षर गरेर महानिर्देशकलाई सम्बोधन गरेर लेखेको पत्रको बोदार्ध जिल्ला स्थित सडक आयोजना कार्यालयलाई पनि दिइएको छ ।