| शनिबार, बैशाख ८, २०८१

गोरखाका जोखिम बस्ती बेलैमा सार्न प्रदेश सांसद दवाडीको माग

गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा पहिरोको जोखिममा परेका बस्ती सार्न माग गरेका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित दवाडीले आफ्नो निर्वाचन क्षेत्रको ४/५ वटा वस्तीका दर्जनौं घर पहिरोको जोखिममा रहेकाले सुरक्षित स्थानमा सार्न माग गरेका छन् ।

अजिरकोट गाउँपालिका- १ धनसिरा, वडा नम्बर २ को ओलाङ, बारपाक सुलीकोट गाउँपालिका-८ तीनखण्डे, वडा नं १ को बारपाकको दलित वस्‍ती र सुलीकोट गाउँपालिका -६ देउरालीका पहिरोको जोखिममा रहेका घरलाई स्थानान्तरण गर्नुपर्ने देखिएको सांसद दवाडीले बताए ।

धनसिरामा ८/९ घर, तीनखण्डेमा पनि ८/९ घर, वारपाकको दलित बस्तीमा २५ घर, ओलाङमा ४/५ घर पहिरोको जोखिममा रहेको उनले बताए । २०७२ सालको भूकम्पको केन्द्रविन्दु बारपाक नजिकका यी बस्तीनजिक भूकम्पका बेलामा जमिनमा ठूला ठूला चिरा परेको छ । वर्षायाममा पानी आएर गलेका बेला जमिन भासिने गरेको छ । ‘यी गाउँमा कतिपय घर पहिरोमा परेका छन्, धेरै घर जोखिममा छन्, त्यसैले सम्बन्धित निकायले बेलैमा सार्नुपर्छ भनेर खबरदारी गरेको हुँ’ सांसद दवाडीले भने ।

उनले सोमबार विज्ञप्ति जारी गरी अहिले पर्याप्त समय भएका बेला कानमा तेल हालेर बस्ने र भवितव्य परेपछि नागरिकलाई राहतका नाममा खोक्रा आश्वासन दिएर फर्किने अवस्था नबनोस् भनी सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्