| बिहिबार, माघ १५, २०७७

अपाङ्गताका कारण कार्यालय पुग्न नसक्नेलाई घरैमा नागरिकता

दरौँदी : अपाङ्गता भएकै कारण नागरिकता बनाउने उमेर पुगेर पनि नागरिकताको प्रमाणपत्र पाउनबाट बञ्चित हुनुभएको छ ?

यदि तपाईको कोही आफन्त, छरछिमेकमा त्यस्ता ब्यक्ति हुनुहुन्छ भन्ने अपाङ्गता भएका ब्यक्तिको अविभाबक स्थानीय सरकारको सिफारिस लिएर जिल्ला प्रशासन जानुहोस् । तपाईले उक्त कागजात लगेर दिएपछि अपाङ्गता भएका ब्यक्तिलाई प्रशासनले नागरिकता बनाएर घरमै ल्याईदिन्छन् ।

जिल्ला प्रशासन कार्यालय गोरखाले हिडडुल गर्न नसक्ने पूणर् रुपमा अपाङ्गता भएका दुई जनालाई घरैमा पुगेर नागरिकता बितरण गरेको छ । शहिदलखन गाउँपालिका वडा नम्बर १ भोगटेनीकी २७ वर्षीया पवित्रा पोखरेल र सोही वडाको खान्चोकका २१ वर्षीया शोभा गुरुङलाई नागरिकता प्रदान गरिएको हो ।

‘जिल्ला प्रशासनमा उहाँको अविभाबकले कागजात ल्याएर खनाखत गरेर जानुभयो’ प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ‘हामीले नागरिकता बनाएर राखेका थियौँ, समय अनुकुल मिलाएर सोमवार घरैमा पुगेर दिएका हौँ ।’

अपाङ्गता भएका ब्यक्तिको अविभाबकले वडाको सिफारिससहित कागजात पेश गरेपछि प्रशासनले नागरिकता बनाउँछ । अभिलेख तयार गरेर बनाइएको नागरिकता घरैमा लगेर दिन सकिने प्रजिअ भट्टराई बताउँछन् ।

पूणर् अपाङ्गता भएका, आउजाउ गर्न समस्या हुने सबैलाई घरैमा लगेर दिन सकिने उनले बताए । ‘त्यसका लागि स्थानीय तहको सिफारिस भने अनिवार्य चाहिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्