| शनिबार, बैशाख ८, २०८१

विद्यालय जिम्मा लिएको एनजीओद्वारा काम अलपत्र,

दरौँदी ः भूकम्पले भत्काएको अजीरकोट ३ सिम्जुङको कालीका आधारभूत विद्यालय भवन निर्माणको काम एक सामाजिक संस्थाले जिम्मा लिएर दुईबर्षदेखि अलपत्र अबस्थामा छोडेको छ । छ महिनाभित्र छ कोठे भवन निर्माण सम्पन्न गर्ने भनी २०७३ सालको असार १७ गते सम्झौता गरेको ओपन लर्निङ एक्स्चेन्ज(ओएलई) नामक सामाजिक संस्थाले भवन निर्माणको काम अलपत्र पारेको प्रधानाध्यापक यमबहादुर गुरुङले जानकारी दिए । भवन नबन्दा सो विद्यालयका ७० जना विद्यार्थी तीनबर्षदेखि टहरोमा पढिरहेका छन् ।

‘पहिले आठ कोठे भवन बनाइदिन्छौं भने । पछिफेरि बोली फेरेर छ कोठे भवन बनाइदिन्छौं भने’, प्रअ गुरुङले भने, ‘तर तीनफीट अग्लो गारो लगाएर छाडेको पनि दुई बर्ष भइसक्यो अहिलेसम्म अलपत्रै छ ।’ बोली फेर्दै जाने, काम नगर्ने गरेर सो संस्थाले विद्यालयलाई हैरान पारेको प्रअ गुरुङको भनाइ । ‘सबै कक्षामा एकेक वटा ल्यापटप पनि दिन्छौं भनेका थिए । पछिफेरि नदिने भने’, उनले भने, ‘गाउँलेले तीन÷तीन बोरा गिटी जुटाइदिनुपर्छ भनेर आग्रह गरे, त्यो पनि जुटाइयो । पछिफेरि विद्यालयको तर्फबाट पाँचसय बोरा गिटी पनि जुटाइदियौं । तर काम बीचैमा छोडेर गए, आएनन् ।’

अर्धपक्की खालको टूष्ट भवनको फलामे खम्बाहरु केही गाडेका छन् केही कार्यक्षेत्रमै अलपत्र पारेर छाडेका उनले बताए । प्रअ गुरुङका अनुसार ३० पत्ता जति जस्तापाता पनि दुईबर्षदेखि अलपत्र पारेर छाडिएको छ ।बैशाख महिनाभरि पानी परेर विद्यार्थीहरुलाई समस्या परेको छ । दुईबर्षअघि बनाइएको अस्थायी टहरा जीर्ण हुँदा जाडोका बेला सहनै नसक्ने जाडो र बर्खाका बेला पानी चुहिएर कक्षा हिलो हुने गरेको विद्यालयले जनाएको छ । ‘कक्षामा भेल पसेर कन्तबिजोक भए पनि विद्यालय जबर्जस्ती चलाएका छौं’, प्रअ गुरुङले भने, ‘संस्थाले भने १५ दिनमा सम्पन्न हुन्छ, २० दिनमा काम सकिन्छ भनेर टारिरहेको छ ।

’संस्थाका संयोजक गणेश घिमिरेले भने स्थानीयकै कमजोरीका कारण काममा ढिलाइ भएको आरोप लगाएका छन् । ‘कालीका प्राविसंगै सुरु गरेको तीन वटा भवनहरु सम्पन्न भइसके’ घिमिरेले भने ‘त्यहाँका केही उच्छृङ्खल युवाहरुले कमिशन मागेर ठेकेदारलाई काम गर्न नसक्ने वातावरण बनाए । सामान पनि सुरक्षित हुन सकेन । त्यसैले ढिला भएको हो ।’ अहिले ५० प्रतिशत काम सकिएको भन्दै उनले बाँकी काम यही हप्तादेखि सुरु गर्ने दाबी गरे । ‘अहिले त जनप्रतिनिधिले पनि सहयोग गर्छौं भनेर बचन दिनुभएको छ त्यसैले काम सुरु गर्छौं’ घिमिरेले भने ।एउटा संस्थाले जिम्मा लिएपछि शिक्षा कार्यालयसंग पनि र अरु संस्थासंग भवन माग गर्न नपाएको भन्दै विद्यालयले गुनासो गरेको छ । ‘न त जिम्मा लिएको संस्थाले काम गर्छ, न त अरुसंग हारगुहार गर्न पाइन्छ’ प्रअ गुरुङले गुनासो गरे ‘फोन गर्दा संस्थाका मान्छेले फोन उठाउँदैनन् । साह्रै दुख पाइयो । बरबादै भइयो ।’

प्रतिक्रिया दिनुहोस्