गोरखा अस्पतालको लापरबाहीले बिरामीलाई सास्ती
गोरखा जिल्ला अस्पतालले गलत एक्सरे रिपोर्ट दिएपछि एक बिरामी समस्यामा परेकी छन् । खुट्टाको समस्या भएर अस्पताल पुगेकी गोरखा नगरपालिका ३ डाँडागाउँकी भगवती बस्नेतको एक्सरे रिपोर्ट सामान्य भन्दै सामान्य उपचार गरी फर्काइदिएपछि बिरामी समस्यामा परेकी हुन् ।
बस्नेतको गत बैशाख २१ गते बिहान पँधेरा जाँदा लडेर दाईने खुट्टा सुन्निएर घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल पुगेकी उनलाई अस्पतालका कर्मचारीले सामान्य हड्डी टुटेको भन्दै प्लास्टर गरी फर्काइदिएको उनी बताउँछिन् ।
‘सामान्य हो, चिन्ता लिनु पर्दैन् भनेर फर्काएका थिए’ उनले भनिन् ‘मेरो चित्तैै बुझेन । त्यसैले भरतपुर जान्छु भनेर रिफर समेत गर्न लगाए तर नेपाल बन्द भएकाले जान सकिन । दुईहप्तासम्म दुखाइ सहेर बसेँ ।’ दुईहप्तापछि भरतपुरको सिएमसी अस्पताल पुग्दा उपचार गराउन ढिला भइसकेको बताएपछि आफू झसंग भएको उनी बताउँछिन् । गोरखा अस्पतालका डाक्टरले जटिल केसलाई समेत सामान्य भन्दै उपचार गरिदिएकाले अप्रेसन गर्न ढिलाई भएको बिरामीको भनाइ छ ।
मेसिन पुरानो भएर समस्या भएको अस्पतालले जनाएको छ । ‘अस्पतालमा रहेको एक्सरे मेसिन पुरानो छ’ जिल्ला अस्पताल गोरखाका सूचना अधिकृत कृष्ण ढकाल भन्छन् ‘त्यस दिन यो केस कसले हेर्नु भएको थियो थाहा भएन । तर, एक्सरे नै गलत हुनु भनेको नियतबस होइन, मेसिनको कारण नै हुनसक्छ ।’ स्वास्थ्यकर्मीले राम्रो गर्न खोज्दाखोज्दै कहिलेकही गल्ती हुन सक्ने उनले बताए ।