
सांसद दवाडीको पहिलो महिनाको तलबले विद्यालयमा अक्षयकोष
गोरखा क्षेत्र नं. २ प्रदेश ख का सांसद प्रकासचन्द्र दवाडीले आफ्नो पहिलो महिनाको तलबले गोरखाको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
नवनिर्मित भवन उद्घाटन समारोहमा सोमबार सांसद दवाडीले जनकल्याण माध्यामिक विद्यालयमा ५५ हजार पाँच सय ५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको सो विद्यालयमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई पढ्न सहज होस् भन्ने उद्देश्यले स्थापित अक्षयकोषका लागि सो रकम सोमबार नै विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् ।
सांसद दवाडीले चुनाव जितेलगत्तै आफूले पाउने पारिश्रमिक व्यक्तिगत रूपमा खर्च नगरी निर्वाचन क्षेत्रमा नै खर्च गर्ने घोषणा गरेका थिए । पूर्वघोषित कार्यक्रम अनुसार पहिलो महिनाको पारिश्रमिकले आर्थिक रुपमा विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्ने घोषणा गरेका थिए ।
अक्षयकोष हस्तान्तरण कार्यक्रममा सांसद दवाडीले आगामि दिनमा पाउने पारिश्रमिकले अरू विद्यालयमा पनि अक्षयकोष स्थापना गर्दै जाने घोषणा गरेका छन् । अक्षयकोषको ब्याजबाट आउने रकम विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्ने विद्यालयले जनाएको छ ।
यसैबीच जनकल्याण माविको नवनिर्मित भवनको प्रदेश नं. ४ का भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । १६ कोठे विद्यालय भवन असल छिमेकी पोखराको सहयोगमा पुनर्निर्माण भएको हो । सो भवन २ करोड ५६ लाख लगानीमा बनेको हो ।