| मङ्लबार, असार १, २०७८

धमाधम वाइसिएल ब्युँताउँदै माओवादी केन्द्र

अदालतले एकीकृत नेकपा भंगको निणर्य गरेपछि पुरानै संरचनामा फर्किएको माओवादी केन्द्रले अहिले धमाधम वाइसिएल ब्युँताइरहेको छ ।


सो पार्टीले युवाहरुको राजनीतिक गतिविधिलाई तीब्रता दिन युवाहरुको संगठन(वाइसिएल) व्युँताएको हो । हालसम्म चार वटा पालिकाको वाइसिएल कमिटी गठन गरेको अकुर तिमिल्सिनाले जानकारी दिए ।


उनका अनुसार वाइसिएलका जिल्ला इञ्चार्ज सुदीप नगरकोटी चयन भएका छन् भने जिल्ला कमिटीका संयोजकमा अशोक शर्मा भट्ट चयन भएका छन् । जिल्ला कमिटी पार्टी एकता हुनुअघि नै गठन भएको वाइसिएल कमिटीलाई यथावत गरिएको उनले बताए ।


त्यस्तै गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका र चुमनुब्री गाउँपालिकाबाहेकका आठवटा पालिकामा कमिटी गठन भएका छन् ।


वाइसिएल इञ्चार्ज नगरकोटीका अनुसार भीमसेनथापा गाउँपालिका मा सम्पन्न भेलाले सागर श्रेष्ठको अध्यक्षतामा पालिका कमिटी गठन गरेको छ । त्यस्तै शहीदलखन गाउँपालिकामा सम्पन्न भेलाले काजी गुरुङको अध्यक्षतामा, धार्चे गाउँपालिकामा सम्पन्न भेलाले सुशील गुरुङको अध्यक्षतामा र सिरानचोक गाउँपालिकामा सम्पन्न भेलाले प्रेम वस्तीको अध्यक्षतामा कमिटी गठन गरेको छ ।


त्यस्तै गण्डकी गाउँपालिकाको अध्यक्षमा सोम गुरुङ चयन भएका छन् भने आरुघाट गाउँपालिका कमिटीको अध्यक्षमा दिवश खड्का, अजीरकोट गाउँपालिका कमिटीको अध्यक्षमा कुशल गुरुङ र बारपाक सुलीकोट गाउँपालिका कमिटीको अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् । गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकामा वृहत भेलाको आयोजना गरी कमिटी गठन गर्ने तयारी गरिरहेका बेला कोभिड १९ को दोस्रो लहरका कारण स्थगित गर्नुपरेको नगरकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्