उत्तरी गोरखामा कोभिडका शंकास्पद बिरामी धेरै छन्, हेल्थपोष्ट रित्तै
चुमनुब्री गाउँपालिका ४ (साबिक प्रोक गाविस)मा अहिले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी धेरै छन् । शंकास्पद लक्षणबाट धेरैको मृत्यू समेत भइसकेको छ, तर उपचार गर्न स्वास्थ्यचौकीमा कर्मचारी छैनन् । नाम्रुङ स्वास्थ्यचौकी बिगत छ महिनादेखि कार्यालय सहयोगीले चलाइरहेका छन् ।
‘दुई जनाको दरबन्दी हो । छ महिना भन्दा बढि भयो मैले नै चलाइरहेको छु’, कार्यालय सहयोगी थार्पा लामाले भन्छन्, ‘ज्वारो, खोकी, रुघा र पखालाका बिरामी धेरै आउँछन् । मैले नै सिटामोल, मेट्रो, जीवनजल दिएर पठाउँछु ।’
बिगत लामो समयदेखि काम गरेकाले उनलाई अरु औषधी दिन पनि आउँछ, तर नदिने उनी बताउँछन्, ‘आउन त मलाई धेरैथोकको ओखती दिन आउँछ तर सिटामोल, मेट्रो, जीवनजल मात्र दिन्छु । अरु दिन मिल्दैन’, उनी भन्छन्, ‘मेरो आफ्नै आम्जी क्लिनिक छ । त्यहाँबाट आयुर्वेदिक औषधी दिन्छु ।’
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढिरहेका बेला स्वास्थ्यचौकी रित्तो हुँदा गाउँलेले कराइरहेका वडाअध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘हेल्थपोष्टमा कर्मचारी भएनन् भनेर गाउँलेले सँधै कराएर मार्न लागिसके । मैले पनि कतिपटक गाउँपालिकालाई भनिसकेँ, तर अहिलेसम्म कर्मचारी पठाएका छैनन्’, वडाअध्यक्ष लामा भन्छन् ।
सरकारी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि बिरामीहरु पनि आम्जी खोज्दै जाने गरेका आम्जीसमेत रहेका स्वास्थ्यचौकीका कार्यालय सहयोगी थार्पा लामा बताउँछन् । ‘बिरामीहरु सबैभन्दा पहिले धामीझाँक्रीकहाँ जान्छन् । त्यहाँ नभएपछि हामीकहाँ आउँछन्’, उनी भन्छन्, ‘कोही स्वास्थ्य चौकीमा गए भने पनि अन्त्यमा हामीलाई खोज्दै आउँछन् । हामी ठिक गरेर पठाउँछौं ।’ स्वास्थ्य चौकीमा दैनिक सरदर तीनचार जना आउने तर आम्जीकहाँ १०–११ जना आउने उनले बताए ।
आम्जीले परम्परागत रूपमा जडिबुटी खुवाएर, पोलेर र खोपेर रगत निकालेर उपचार गर्छन् ।