| शनिबार, बैशाख ८, २०८१

मंसीरमा आउला त दरौँदी लिफ्टिङको पानी

एक महिनाभित्र दरौँदी लिफ्टिङ वृहत खानेपानी आयोजनाको पानी गोरखा बजारमा आउने भनेर दुई बर्षअघि समाचार प्रकाशित, प्रशारित भयो ।

साना सहरी, तीनधारे, चाँपपानी, कणर्ेखोला लगायतका खानेपानी आयोजनाका पानी अपर्याप्त भइरहेका बेला यस्ता समाचारले उर्जा दिएको थियो ।
तर दुई बर्ष बित्यो, अझै खानेपानी कहिले आउने भन्नेबारे बेखबर भइरहेका बेला फेरि एउटा नयाँ सन्देश आएको छ, मंसीरभित्र सो आयोजनाको पानी आउने भनेर । यसलाई पनि दुईबर्षअघिको घटनासित जोडेर आलोचना त भएको छ, तर अब जसरी पनि सक्नु पर्ने, नत्र म्याद नथपिने भन्ने बाध्यकारी ब्यबस्थाका कारण पानी आउँछ कि भन्ने आशा राख्ने ठाउँ छ ।


विकास र संवृद्धिको नारामा पटक पटक नेता, मन्त्री, सांसद(सरकार)बाट धोकैधोका झेलेर अभ्यस्त भइसकेका नागरिकलाई एउटा आयोजनाले झुक्याउँदा त्यति धेरै अन्यथा त हुदैन, तैपनि विश्वासनीयतामाथि पक्कै प्रश्नचिन्ह खडा हुनेछ । आयोजनाले दिने अन्य आश्वासनप्रतिको जनविश्वास माटोमा मिल्नेछ । खानेपानी बिभाग, आयोजना कार्यालय, उपभोक्ता समितिले फेरि फेरि उपभोक्तासामु बोल्ने बाटो हराउनेछ ।


खानेपानी वितरणको मोडेल र महशुलका बारेमा राय संकलन गर्न गत शनिबार आयोजना कार्यालय, बिभाग र उपभोक्ता समिति बीच छलफल कार्यक्रम भएको थियो । कार्यक्रमले मोडेल र महशुलका बारेमा टुंगो लगाएको छ । अब पुन यस बारेमा खेस्रा गरी अन्तिम पटक छलफल गरेर परिपक्कता दिने गरी बैठकले निणर्य गरेको छ ।


यो अन्तिम तयारीमा जुटेको संकेत हो । अब दरौँदी लिफ्टिङले यसअघिदेखि सेवा दिइरहेका खानेपानी आयोजनाको ट्याङ्कीमा पानी खसाल्नेछ र साविककै झैँ उपभोक्ताको घरघरमा वितरण हुनेछ । महशुल साविक सञ्चालित समितिले संकलन गर्नेछन् र दरौँदी आयोजना र आफूलाई भाग लगाउनेछन् । यही मोडलमा पानी वितरण गर्ने निश्कर्ष निकालिएको छ ।
निश्कर्ष जे भए पनि निर्धारित समयमा पानी आओस् ।

प्रतिक्रिया दिनुहोस्