गोरखामा बहिनीको कागजातमा दिदीलाई जागिर
दरौँदी ः पालुङ्टार नगरपालिका १ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजको आधारमा एक महिलालाई सहायक कर्मचारीमा छनौट गरेका छन् । बहिनी हिरा बानियाँको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेश गरेकी स्थानीय कविता बानियाँ(खड्का)लाई खुल्ला प्रतिष्पद्र्धा गराएर छनौट गरेका हुन् ।
साथै दुई नाम भएका एउटै व्यक्ति हुन् भन्ने फर्जी सिफारिससमेत पेश भएको खुलेको छ ।
वडा कार्यालयले आवेदन खुल्ला गरेपछि सात जनाको निवेदन परेको थियो । उनीहरुमध्य वडा अध्यक्ष परियारले कविताको नाम प्रकाशन गरेका स्थानीय भोला श्रेष्ठले जानकारी दिए ।
कविताले कक्षा आठ उतीर्ण गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र साहिली बहिनी हिरा बानियाँको पेश गरेको खुलेको छ । नागरिकताको प्रमाणपत्र भने आफ्नै नामको पेश गरेकी छन् । नागरिकतामा जन्म मिति २०४५ साल उल्लेख छ भने लब्धाङ्कपत्र र प्रमाणपत्रमा जन्ममिति २०४९ साल उल्लेख छ ।
साथै उनले हिरा र कविता भन्ने व्यक्ति एउटै हुन् भन्ने प्रमाणपत्र पनि पेश गरेकी छन् । सो दिदी र बहिनीलाई एउटै हुन् भन्ने प्रमाणपत्र उनलाई गोरखा नगरपालिका वडा नं. ३ ले, पालुङ्टार नगरपालिका वडा नं. १ ले र जिल्ला प्रशासन कार्यालयले समेत प्रमाणित गरेको छ ।
‘हिरा र कविता भन्ने व्यक्ति एउटै हो भन्ने गोरखा नगरपालिका वडा नं. ३ को वडा कार्यालयको सिफारिस आयो । मार्कसिट र सर्टिफिकेट मा फोटो पनि कविताकै टाँसेर पेश भयो त्यसैले मैले अघि बढाएँ’ पालुङ्टार १ का वडा अध्यक्ष परियारले भने ‘हामीले त मान्छे भन्दा पनि कागजलाई प्रमाण मान्ने हो ।’ गोरखा नगरपालिका ३ स्थित विन्दबासिनी माध्यमिक विद्यालयले उनको फोटो टाँसेर बहिनी हिरा बानियाँको नामको कागजात बनाइदिएको छ । ‘जिम्मेवार निकायको यस्तो गाईजात्रे पारा देखेर हामीले बिरोध ग¥यौं’ भोला श्रेष्ठ भन्छन् ‘त्यसपछि नतिजा टाँसिएपछि पनि नियुक्ति भने दिएका छैनन् ।’
जिल्ला प्रशासन कार्यालयले समेत ती दुई व्यक्ति एउटै हुन् भनेर प्रमाणित गरेपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित वडा अध्यक्ष, विद्यालयका प्रअ र दिदी बहिनी दुवैलाई झिकाएर अनुसन्धान थाल्ने जनाएका छन् ।
‘वडाले सिफारिस गरेको कागजलाई आधार मानेर हामीले प्रमाणित गर्ने गर्छौं’ प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत भन्छन् ‘मैले यहाँ नाम मुछिएका सबैलाई झिकाएर अनुसन्धान गर्नेछु ।’
फर्जी बारे चर्चा हुन थालेपछि सामान्यीकरण गर्ने चलखेल पनि हुन थालेको स्रोतले बताएको छ ।