| शनिबार, फाल्गुन ३, २०८१

रिपोर्टरको डायरी : बाह्रभाइको नमेटिने खत

शिव उप्रेती । गत शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस तनहूँको आँबुखैरेनी ऐनापहरामा दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भयो । अपुष्ट सूचना पुष्टिगरीवरी त्यसतर्फ लाग्दा आधाघण्टा यसै ढिलो भयो ।
गोरखाबाट त्यसतर्फ हानिने हामी तीनजना थियो, कान्तिपुर टेलिभिजनका भीमलाल श्रेष्ठ, कान्तिपुर पत्रिकाका हरिराम उप्रेती र म ।
गोरखाबाट करिब २५ किलोमिटर पर पर्ने घटनास्थल पुग्दा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले भीर फाँडफुँड गरी डोरी टाँगिसकेको थियो । बस सडकबाट करिब एकसय मिटर मस्र्याङ्दीको बगरमा देखिन्थ्यो । अनौपचारिक रुपमा सुनियो, ‘प्रहरी र स्थानीय स्वयंसेवकहरु मिलेर घाइतेलाई पाखामा उतारिसकेका छन् ।
घटनास्थललाई सुरक्षाकर्मीले सुरक्षा घेराभित्र राखिसकेको हुँदा निश्चित क्षेत्रभित्र सर्वसाधारण र हामीले पनि प्रवेश पाएनौँ । परैबाट तस्वीर लिँदै गर्दा रमितेहरुको लामबाट सुनियो, ‘ऊ बल्ल आइपुगे बाह्रभाइका सेनामेना ।’ हामीले त्यो आवाज आएतिर हेर्नु थिएन । सुने पनि नसुनेझैँ गर्नुको बिकल्प थिएन ।
घाटमा पुगेर घाइते उद्धारका केही तस्वीर खिचेर फर्किहाल्ने हाम्रो पटक पटकको अनुरोधलाई त्यहाँ खटिएका प्रहरी अधिकृतहरुले पटक्कै स्वीकार गरेनन् । सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रयोजनका लागि मोबाइल सोझ्याइरहेकाहरुको भीडभन्दा नजिक गएर तस्वीर तथा भिडियो खिच्ने अनुमति नपाएपछि निरिह बनेर खुम्चिनुको बिकल्प हामीसंग थिएन । बगरबाट पहिलो पटक उद्धार गरेर सडकमा ल्याइपु¥याइएको घाइतेको तस्वीर, भिडियो खिच्नु हाम्रालागि अत्यन्त महत्वपूर्ण थियो ।
क्यामरा थोरै नजिक पुगेर तेस्र्याउन खोज्दा प्रहरी राँक्किएर घुचेट्न आइपुग्थ्यो । अनि दर्शक दीर्घाबाट शव्द वाण आउँथ्यो, ‘ओई पत्रकार, साइड लाग् ।’ ‘यो देश बिगारेकै यही पत्रकारहरुले त हो ।’, ‘त्यसै भनेको हो र रवि लामिछानेले बाह्रभाइ भनेर ?’ इत्यादि ।
दुर्घटनामा परेको बससंगै आएको अर्को बसका यात्रुले दुर्घटनाग्रस्त गाडीमा रहेकाहरुको नामावली उतारिरहेका थिए । त्यही नामावली विधिवत रुपमा प्रहरी स्रोतबाट लिन खोज्दा हिरासतमा रहेका थुनुवाले कुनै कुराको याचना गरेसरह व्यवहार हुन्थ्यो । बरु त्यही नामावली भारतीय यात्रुबाट प्राप्त भयो ।
उद्धारमा सुरक्षाकर्मीहरुको खटाइ मुक्तकण्ठले प्रसंसायोग्य थियो । घाटमा घाइते र मृतकको शव उतारिसकिएको भन्ने खबर अनौपचारिक रुपमा सुनियो । हामीले कतिजना घाइते, कतिजना मृतक हुन् भनेर सोध्ने चेष्टा ग¥यौँ । तर कसैले सूचना चुहाएनन् । अस्पताल परिसरमा पर्दाभित्र लास लामवद्ध सुताइएको थियो । गन्दा पनि २६ पुग्थ्यो ।

एकजना भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यू भएको खबर थियो । तर यही वाक्य आधिकारिक रुपमा खोजेका थियौँ । प्रहरी प्रमुख भन्नुहुन्थ्यो, ‘यो बोल्ने बेला होइन ।’ प्रमुख जिल्ला अधिकारी भन्नुहुन्थ्यो, ‘धैर्य गर्नुस् न ।’

यो विषयमा हामीले राती १० बजेसम्म धैर्य ग¥यौँ । तर अपरान्ह चारबजेतिरै आँबुखैरेनी अस्पतालमा उतारिसकिएको २६ वटा शवको नामावली त परको कुरा संख्यासमेत औपचारिक रुपमा पाइएन । अनि हामीले ह्याकुलो मिच्याइँ गरेर समाचार ‘ब्रेक’ ग¥यौँ, ‘२७ को मृत्यू, १६ जना घाइते’ भनेर ।
भीरमा दिनभरि संयुक्त सुरक्षा टोलीले असिनपसिन हुदै घाइते बोक्दै थिए, डोरीको प्रयोग गरी लास तान्दै थिए । अर्कातर्फ सडकमा जाम भएर बसेका सयौँ सवारी साधन, हजारौँ यात्रुलाई पार गराउन प्रहरी, ट्राफिक प्रहरी खटिएका थिए ।

उनीहरुले आलोपालो गरी सवारीसाधनका लागि सडक एकातर्फी खुलाएका थिए । राष्ट्रसेवकहरुको यो खटाइ असीम सलामयोग्य थियो ।
कथं उनीहरुको काममा हाम्रा कारणले बाधा अड्चन पुग्छ कि भन्नेमा हामी संवेदनशील थियौँ । यति हुँदाहुँदै पनि हामीसंग पनि आफ्नो दायित्व थियो, जिम्मेवारी थियो । कर्तव्य पालनाकै लागि हामी पनि फिल्डमा खटिएका थियौँ । फिल्डको यथार्थ चित्रण, सत्य, तथ्य, विश्वासनीय सूचना संकलन र संप्रेषणका लागि हामी उत्तिकै तन, मनका साथ खटिरहेका हुन्छौँ ।

यद्यपि जिम्मेवार भएर खटिने पत्रकारप्रति न सुरक्षा अधिकारी, न स्थानीय प्रशासनको उदार । अधिकांश सर्वसाधारणको त पत्रकार र उनीहरुको खटाइप्रति खुल्लमखुल्ला बाह्रभाइका सेनामेना भन्दै तीब्र आलोचना र कटु शव्दवाण प्रहार ।
दिनभर फिल्ड रिपोर्टिङ गरेर फर्किँदा पनि हामी तीनैजनाको रिपोर्टिङ अपूरै भएजस्तो भयो, कारण, हामीसंग आधिकारिक विवरण न घाइतेको थियो, न मृतकको थियो । अन्ततः आफ्नो मिडिया हाउसमा रिपोर्ट पठाउँदा पनि हामी अनौपचारिक तथ्यांक पठाउन बाध्य भयौँ ।
कर्तव्य निर्वाह गर्न फिल्डमा खट्ने पत्रकारका लागि उच्च मनोबलका साथ काम गर्ने वातावरण र आधिकारिक सूचना तिर्खाएका प्यासीलाई पानीभन्दा पनि बढि आवश्यक रहेछ ।

प्रतिक्रिया दिनुहोस्