
सबै जनप्रतिनिधिलाई पद खालि गर्न विप्लपको पार्टीको चेतावनी
दरौँदी ः नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोरखाका स्थानीय तहका जनप्रतिनिधिलाई पद खालि गर्न चेतावनी दिएका छन् ।
संयुक्त क्रान्तिकारी जनपरिषद नेपाल, गोरखाको लेटरप्याड पठाइएको पत्रमा जिल्लाका ११ वटै स्थानीय तहका जनप्रतिनिधीलाई पद खालि गराउन आग्रह गरिएको छ ।‘सबै पद खालि गराउनु भन्ने ब्यहोराको पत्र आएको छ’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पत्र प्राप्त गरेको स्वीकार गरे । कसैलाई हुलाकबाट र कसैलाई हातैले पत्र पठाइएको सो पार्टीका कपिल भट्टले जानकारी दिए ।
‘पुग्न सकिने ठाउँमा हातैले पत्र थमाएका छौं । टाढाका गाउँपालिकाहरुमा हुलाकबाट पठाएका छौं’ उनले भने ‘जसरी पठाएको भएपनि विषयको गाम्भिर्य उही हो ।’गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, आरुघाट गाउँपालिका र अजीरकोट गाउँपालिकाले पत्र प्राप्त गरेको जनाएका छन् । ‘किन यसो गरिएको हो, थाह छैन’ आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहालले भने ‘मैले त के बिषयमा असहमति हो, बसेर छलफल गरौं भनेको छु ।’
संसदीय व्यबस्था नमान्ने भएकाले पद खालि गराउने केन्द्रीय अभियान अनुसार पत्र पठाएको जनपरिषद गोरखाका प्रमुख विष्णु रिजालले बताए । ‘जनप्रतिनिधिहरु कोही जग्गा दलाल, कोही भ्रष्ट, कोही तस्कर छन्’ उनले भने ‘हामीले भन्दा जनताले नै पहिले राजिनामा मागिसकेका छन् । हामीले पनि केन्द्रीय कार्यक्रम अनुसार पद खालि गराउन पत्र पठाएका हौं ।’ राजिनामा नदिए दोस्रो चरणको दबाब मुलक कार्यक्रम सुरु हुने उनले बताए ।