| शुक्रबार, माघ ४, २०८१

गोरखा बजारमै पेट्रोलको कालोबजारी, लिटरको रु १३५

अश्विन दानी ः  गोरखा सदरमुकाममा पेट्रोलको कालो बजारी हुने गरेको छ । पेट्रोल पम्पदेखि करिब सय मिटर माथि आयुर्वेदिक चोक अगाडि रहेको स्टाफ होटलमा अबैध रुपमा पेट्रोलको कारोबार हुने गरेको हो । पम्पमा प्रतिलिटर पेट्रोलको एकसय पाँच रुपैँया पर्छ तर सो होटलमा प्रतिलिटर एक सय ३५ रुपैँयामा कारोबार हुने गरेको छ । साँझ बिहान पेट्रोलपम्प बन्द भएको बेलामा तथा पम्पमा ‘पेट्रोल छैन’ लेखेको बेला उपभोक्ताहरु सो होटल खोज्दै जाने गर्छन् ।
देशमा पेट्रोल अभाव नभएको बेला गोरखाको पम्पमा पनि बेला कुबेला ‘पेट्रोल छैन’ भनेर लेखिने गरेको छ । पम्पमा पेट्रोल नभएको मौका छोपी कालाबजारी गर्नेले अकूत पैसा लिएर पेट्रोल बेच्ने गरेको पाइएको छ । पेट्रोलको भाउ बढि भएको बिषयमा कसैले जिज्ञासा राखेमा बिक्रेताले रुखो स्वरमा ग्राहकलाई सस्तोमा किन्न पम्प देखाइदिने गरेको प्रत्यक्षदर्शी बताउँछन् । ‘कोहीकोहीले पैसा बढि भयो भनेर किचकिच पनि गर्छन्’ एक स्थानीयबासीले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने ‘किचकिच गर्नेलाई होटलवालाले सस्तो किन्न पम्पमै जानू भनिदिन्छन् । अनि बोलेको भाउ तिर्न बाध्य भइहाल्छन् ।’ एकसय पाँच रुपियाँको पेट्रोल एकसय ३५ रुपियाँमा बेच्ने गरेको होटलवालाले स्वीकार गरेका छन् । ‘पम्पबाट ट्याक्सीमा ल्याउन तीन चार सय रुपियाँ ट्याक्सीले भाडा लिन्छ’ होटलवालाले भनिन् ‘हिसाब गर्दा त उस्तै हो नाफा छैन । हामीले त ग्राहकको सेवाका लागि मात्रै पेट्रोल राखेका हौँ ।’ कोही त्यसतै समस्या परेर आउनेलाई मात्रै पेट्रोल बेच्ने गरेको होटलवाला बताउँछन् । पेट्रोल विक्रि गर्ने होटल वालीले वियरको कार्टुनमा पेट्रोल लुकाएर राख्ने गरेको स्रोतको दाबी छ ।  लेखक प्रशिक्षार्थी पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्