| शनिबार, बैशाख ८, २०८१

डुबे सबै सहकारी पसल

दरौँदी ः बाबुराम भट्टराई अर्थमन्त्री हुँदा २०६६ सालमा गाउँगाउँमा सह कारी, घरघरमा भकारीको अबधारणा अनुसार खुलेका सुपथ मूल्यका पसल धमाधम बन्द भएका छन् । गोरखामा खुलेका ५३ वटा त्यस्ता पसल मध्य नौबर्षको अवधिमा एउटा मात्र चलेको पाइएको छ ।
सुपथ मूल्यको पसल सञ्चालन गर्न त्यतिबेला सरकारले एकलाख रुपियाँ अनुदान दिएको थियो । अनुदान पाएपछि गाउँगाउँमा खुलेका प्राय सबै सहकारी पसलमा ढोका लागिसकेको उपभोक्ता सहकारी संघका जिल्ला अध्यक्ष कृष्ण धौराली बताउँछन् । ‘नयाँ बजारको एउटा पसलचाहीँ राम्रोसंग चलेको छ, अरु सबै ढोका लागिसकेको छ’ धौराली भन्छन् ‘बोर्लाङ, गाईखुर र छोप्राकको पसलको चाहिँ धुकधुकी मात्र बाँकी होला ।’
अरु पसलमा भन्दा सुका मोहर मात्र भएपनि सुपथ मूल्यमा बेच्ने उद्देश्यका साथ सुपथ मूल्यको पसल सञ्चालन गरिएको थियो । ‘अनुदानले एकबर्षसम्म त राम्रै चले’ धौराली भन्छन् ‘दोस्रो बर्षदेखि लगानी गर्ने पुँजी भएन । त्यसपछि धमाधम बन्द हुन थाले ।’
२५ जना सदस्य मिलेर कम्तिमा एकलाख रुपियाँ जम्मा गर्ने उपभोक्ता सहकारीलाई पसल सञ्चालन गर्न सरकारले जिल्ला कृषि विकास कार्यालयमार्फत अनुदान दिएको थियो । व्यबस्थापन गतिलो नहुँदा दोस्रो बर्षदेखि त्यस्ता पसल बन्द हुदै गएका नयाँबजारका सहकारी पसलका सञ्चालक रामबाबु श्रेष्ठ बताउँछन् । ‘राम्रो व्यबस्थापन नभएर नै बन्द भएका हुन्’ श्रेष्ठ भन्छन् ‘कोही सञ्चालक नै लोभीपापी भैदिए । आम्दानीको राम्रो परिचालन हुन सकेन । लगानी नभएर बन्द भए ।’ बन्द हुनुमा व्यबस्थापनकै कमजोरी रहेको उनको भनाइ छ ।
सहकारी पसलले सस्तो दिन थालेपछि साबिकका पसलेहरुले इश्र्या गर्न थाले । ग्राहकहरुलाई बिभिन्न षड्यन्त्र गरेर सहकारी पसलमा जानबाट बञ्चित गरेको सहकारी पसल सञ्चालकहरुको भनाइ छ । ‘सुपथ मूल्यको पसलमा उदारो दिने ब्यबस्था हुदैन । ग्राहकहरुलाई उदारो चाहिने भयो’ श्रेष्ठ भन्छन् ‘अनि सुका मोहर सस्तो भन्दा पनि सुका मोहर बढि परे पनि जहाँ उदारो पाइन्छ, ग्राहक त्यही जाने भए । यसरी डुबेका हुन् सहकारी पसल ।’ सहकारी पसलको महत्व बुझ्नेहरु नभएर पनि समस्या परेको उनले बताए ।
सहकारी पसललाई नाफामुखी भन्दा पनि सेवामुखी बनाउने सरकारको उद्देश्य थियो । ‘घर भाडा तिर्न र पसलमा बस्नेलाई तलब दिन पुगे हुन्छ’ उपभोक्ता सहकारी संघका अध्यक्ष धौराली भन्छन् ‘त्यसका लागि एकलाख, दुईलाख लगानी गरेर हुन्न रहेछ भन्ने थाहा भयो । ठूला लगानी गरेर खुलेका पसल भन्दा हाम्रो जस्तो एकदुईलाख रुपियाँ लगानी गरेर खुलेका पसलले अरुले भन्दा सस्तोमा दिन सकेन । त्यसैले यो अबधारणा फेल हुन पुग्यो ।’ ब्यक्तिगत काम छोडेर सामाजिक काम गर्ने मान्छेको अभावले पनि यस्तो पसल बन्द हुन पुगेको उनको तर्क छ ।
सहकारी पसललाई सामान ढुवानी गर्न उपभोक्ता सहकारी संघले किनेको टूक पनि अहिले भाडामा चलाउन दिएको अध्यक्ष धौरालीले जानकारी दिए । ‘डूाइभरलाई नै चलाएर खाउ भनेर भाडामा दिएका छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्