| शुक्रबार, कार्तिक १४, २०७७

चितवनका एक सय दश स्वास्थ्यकर्मी कोरोना संक्रमणमुक्त भएर काममा फर्किए

चितवनका एक सय दश जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमुक्त भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयअनुसार अहिलेसम्म १३ जना डाक्टर, ४७ जना नर्ससहित एक सय दश स्वास्थ्यकर्मी संक्रमणमुक्त भएर पुनः काममा फर्किएका छन्।

यहाँका विभिन्न अस्पतालमा कार्यरत २५४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो।

३४ जना डाक्टर, ६४ जना नर्स तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत १ सय ६० जना अन्यमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन गिताञ्जली ढकालले जानकारी दिइन्

बिहीबारमात्रै भरतपुर अस्पतालका २ जना नर्ससहितका ७ जना स्वास्थ्यकर्मीहरू संक्रमणमुक्त भएका थिए।

यस अस्पतालमा कार्यरत ९ जना डाक्टरसहित ५० जनालाई कोरोना पोजेटिभ देखिएको थियो। अब १७ जनामात्रै निको हुन बाँकी रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

चितवन मेडिकल कलेजमा कार्यरत् ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, बकुलहर रत्ननगर अस्पताल, सेन्ट्रल अस्पताल, मौलाकालिका अस्पताललगायत अधिकांश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कोरोना पोजेटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्