| शनिबार, कार्तिक ८, २०७७

editorial

यो बर्ष ग्रामीण सडक मर्मत किन ढिला ?

बिगत बर्षमा यतिबेलासम्म सडक मर्मतसम्भार भइसक्थ्यो । गाउँका सडकहरुमा पनि राजमार्गमा झै सररर चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारीसाधन कुद्थे । तर यसबर्ष अहिलेसम्म साउन, भदौमा झैँ खाल्डाखुल्डी, हिलो, छेउकुनामा पहिरोका थुप्राहरु ज्यूँका त्यूँ छन् ।

दशै, तिहार जस्ता चाडपर्व नजिकिदै आइरहेको छ । यो बेला गाउँलेहरु सबै मिलेर आफ्नो घर आँगन, गल्ली, चौर, चौतारा, बाटो, मूलबाटो सरसफाइ गर्ने बेला हो ।
बिगतमा पालिकाहरुले पनि आ(आफ्नो पालिकाभित्र पर्ने सडकहरु सरफाइ गर्थे । अथवा सो सडक जुन निकायले निर्माण गरेको हो, मर्मतसम्भार पनि उनैले गर्थे । बर्खाभरि बिग्रिएका सडकहरु सम्याउने, पहिरो फाल्ने, ग्रेडिङ मिलाउने गर्थे ।

यो सबैभन्दा धेरै पहिरो गएको बर्ष हो । तर यही बर्ष पहिरो पन्छ्याउने, सम्याउने, लेभल मिलाउने, ग्रेडिङ मिलाउने काम भएको छैन । कुनैकुनै पालिकाले मात्र मर्मतसम्भार गरेको जनाएका छन् । कसैले प्राविधिकले स्टिमेट गर्न ढिला गरेकाले काम ढिला भएको जनाएका छन् । कसैले मर्मत गरिसकिएको हो भन्छन्, तर सडकको अबस्था साउन, भदौमा जत्तिकै बिजोक छ ।

चाडबाड आउँदैछ । सहरमा रहेकाहरु पनि फाट्टफुट्ट गाउँ फर्कन थालेका छन् । स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सर्त आफ्नै ठाउँमा छ तर सडक पनि जीणर् छ, मर्मत, सम्भार गरिएको छैन ।
जुनबर्ष बढि क्षतिग्रस्त भएको छ, त्यही बर्ष झन् मर्मत सम्भार नगरी आफ्नै पालिकाभित्रको सडक क्षतविक्षेत भएको हेरेर बसिरहेका छन् । यो अबस्थामा स्थानीय सडक उपभोक्ताहरुले पनि पालिका सरकारलाई तताउनु पर्ने पो हो कि ?

प्रतिक्रिया दिनुहोस्