| बिहिबार, माघ १५, २०७७

तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित

चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैंडा संरक्षणको चुनौति बढिरहेको बेला निकुञ्ज प्रशासनले यसअघि तस्करीमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो । 

एक दशकअघि गैंडाको खाग तस्करी गर्नेहरुले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पुरा गरेका व्यक्तिहरुलाई अहिले गैंडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । 

तत्कालिन समयमा गैंडाको चोरी सिकारमा एउटै गाउँका ४० जनासम्म संलग्न भएका थिए । चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैडा संरक्षणमा जुट्न निकुञ्जले प्रेरित गरेको हो । निकुञ्जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्ज सम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरुलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्ष सम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गरे ।


तस्करीमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन् । विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरुले बताए । 

त्यसैले चेतना मुलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरुको भनाइ छ । आर्थिक रुपमा असुरक्षित भएमा गैंडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरुले बताएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफूहरुलाई प्रेरित गरिनुपर्ने स्थानीय सुन्दर चेपाङले बताए । 

चितवन राष्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शुन्य चोरी सिकार वर्ष मनाइएको थियो । तर यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चार वटा गैंडा मारिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैंडा मारेर तस्करी भएको इतिहास समेत छ । 

प्रतिक्रिया दिनुहोस्