| बुधबार, फाल्गुन १९, २०७७

एसइईमा ३५ नम्बरमुनिका फेल हुने

दातृ निकायको इसारामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा कार्यान्वयन गरिएको ५ नम्बर ल्याएर पास हुने अक्षरांकन प्रणालीले विद्यालय शिक्षाको गुणस्तर थप खस्काएको निष्कर्ष निकाल्दै सरकारले हालको अक्षरांकन प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ । सो प्रणालीले विद्यार्थीले सैद्धान्तिक परीक्षामा ५ नम्बर ल्याए पास गराउने व्यवस्थाले विद्यालय शिक्षाको गुणस्तर झनै खस्केको निष्कर्ष सरकारले नै गठन गरेको समितिले निकालेको छ ।

यस वर्षको एसइई परीक्षाको नतिजा प्रकाशन भएसँगै नतिजामा धेरै विद्यार्थीले प्राक्टिकलमा २५ नम्बरमा २५ नम्बर नै विद्यालयबाट प्राप्त गरेको तर ७५ नम्बरको सैद्धान्तिक लिखित परीक्षामा ५ नम्बर पनि मुस्किलले प्राप्त गरेको देखायो । यसले विद्यार्थीमा अध्ययन गर्ने बानी समेत हटाएको प्रमाणित गरिदिएको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जनाए । उनले एसइईको नतिजाले विद्यालय शिक्षाको गुणस्तर खस्कँदै गएको देखाएपछि यसबारे अध्ययन अनुसन्धान गर्न राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य उषा झाको अध्यक्षतामा भदौ पहिलो साता एसइई विद्यार्थी सिकाइ सुधारका लागि अक्षरांकन पद्धति सिफारिस समिति गठन गरेको थियो ।

सोही समितिले साढे चार महिना अध्ययन अनुसन्धान गरी तयार पारेको प्रतिवेदनले एसइईमा विद्यार्थी सिकाइ उपलब्धि गुणस्तर विकास गर्न हालको अक्षरांकन पद्धति असफल रहेको निष्कर्ष निकाल्दै सुधारको सुझावसहित विकल्प माघ १५ गते परिषद्लाई बुझाएको छ । परिषद् अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्