| बिहिबार, बैशाख ६, २०८१

स्कुले विद्यार्थीका लागि ‘मेनु’ तयार

सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा अनिवार्य रूपमा पकाएरै खुवाउनुपर्ने भएको छ । स्थानीय उत्पादनको अधिकतम प्रयोग गरी विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड सरकारले तयार पारेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले दैनिक एक जना विद्यार्थीले १५० देखि दुई सय ग्रामसम्म ताजा खाजा खान पाउने गरी खाजा कार्यक्रम देशभर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । यसले विद्यार्थीको पौष्टिक पक्षका साथै पठनपाठनमा समेत सकारात्मक प्रभाव पार्ने जनाइएको छ ।
सरकारले यस पटक कर्णालीका विद्यार्थीलाई प्रतिदिन २० रुपियाँ र अन्य क्षेत्रका विद्यार्थीलाई प्रतिदिन १५ रुपियाँका दरले खाजा खर्च उपलब्ध गराएको छ । यस कार्यक्रमबाट सामुदायिक विद्यालयका कक्षा ५ सम्मका २८ लाखभन्दा बढी विद्यार्थीले दैनिक निःशुल्क खाजा खान पाउनेछन् । यसका लागि सरकारले यस वर्षको बजेटमा सात अर्ब ७२ करोड ९३ लाख रुपियाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्