| शनिबार, बैशाख ८, २०८१

मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार

अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले पर्सा वीरगञ्जकी मुस्कानलाई २०७६ साल भदौमा एसिड आक्रमण गरेका थिए ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।

प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ । अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो ।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।’

नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्न पाउँदा गर्व लागेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्