| शनिबार, बैशाख ८, २०८१

यी हुन् विश्वका सर्वाधिक धनी व्यक्ति, झन्डै ५ सय नयाँ अर्बपति थपिए

कोरोना महामारी र लकडाउनकाबीच पनि सन् २०२१ मा अर्बपतिहरूको संख्यामा वृद्धि भएको छ । विश्व चर्चित विजनेस पत्रिका फोब्र्सले सार्वजनिक गरेको ३५औं वार्षीक सूचीअनुसार यो वर्ष ४९३ नयाँ अर्बपतिहरू थपिएका छन् । यो वर्ष ८६ प्रतिशत अर्बपतिहरूको सम्पत्ति अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । शीर्ष १० मा परेकामध्ये ८ अर्बपति अमेरिकी नागरिक हुन् ।

१.जेफ बेजोस

अमेजनका मालिक जेफ बेजोस लगातार चौंथोपटक विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीको पहिलो स्थानमा रहन सफल भएका छन् । अमेरिकी नागरिक बेजोसको कुल सम्पत्ति १७७ बिलियन डलर रहेको फोब्र्सले जनाएको छ । उनको सम्पत्ति गत वर्षभन्दा ६४ बिलियन डलरले वृद्धि भएको छ ।

२. एलन मस्क

सन् २०२० मा ३१ औं स्थानमा रहेका एलन मस्क यो वर्ष सर्बाधिक सम्पत्ति जोड्दै दोस्रो स्थानमा उक्लिएका छन् । २४.६ बिलियन डलरका मालिक अमेरिकी नागरिक मस्कको कुल सम्पत्ति यो वर्ष बढेर १५१ बिलियन डलर पुगेको छ । टेस्लाको सेयर मूल्य ७०५ प्रतिशतले बढेसँगै उनी दोस्रो स्थानमा उक्लिएका हुन्

३. बर्नार्ड अर्नाल्ट

गत वर्ष तेस्रो स्थानमा रहेका फ्रान्सका बर्नार्ड अर्नाल्ट यो वर्ष पनि तेस्रो स्थानमा रहेका छन् । सन् २०२० मा ७६ बिलियन डलरका मालिक रहेका उनको सम्पत्ति बढेर १५० बिलियन डलर पुगेको छ । उनी विलासी वस्तुहरूको उत्पादन गर्ने कम्पनी एलभीएमएचका मालिक हुन् ।

४. बिल गेट्स

सन् २०२० मा दोस्रो स्थानमा रहेका माइक्रोसफ्टका मालिक बिल गेट्स यो वर्ष चौथो स्थानमा झरेका छन् । यद्यपि उनको सम्पत्ति ९८ बिलियनबाट बढेर १२४ बिलियन पुगेको छ । यिनी अमेरिकी नागरिक हुन् ।

५. मार्क जुकरबर्ग

सर्वाधिक धनीहरूको पाँचौं स्थानमा यो वर्ष अमेरिकी कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्ग रहेका छन् । ९७ बिलियन डलरका मालिक जुकरबर्ग अघिल्लो वर्ष सातौं स्थानमा थिए । ४२.२ बिलियन डलर सम्पत्ति बढेसँगै उनी पाचौं स्थानमा उक्लिएका हुन् ।

६. वारेन बफेट

विश्वका सर्वाधिक धनीहरूको सूचीको छैटौं स्थानमा वारेन बफेट परेका छन् । अघिल्लो वर्ष चांैथो स्थानमा रहेका उनी यो वर्ष छैटौं स्थानमा झरेका हुन् । गत वर्षभन्दा २८.५ बिलियन डलर बढी कमाएका उनी ९६ बिलियन डलरका मालिक हुन् । अमेरिकी नागरिक बफेट सन् १९९३ देखि शीर्ष ५ मा नपरेको यो पहिलो वर्ष हो ।

७.ल्यारी एलिसन

प्रविधि सम्बन्धी कम्पनी ओरेकल कर्पोरेसनका मालिक ल्यारी एलिसन विश्वको सातौं धनी बनेका फोब्र्सले जनाएको छ । सन् २०२० मा ५९ बिलियन रहेको उनको सम्पत्ति यो वर्ष बढेर ९३ बिलियन पुगेको छ । गत वर्ष उनी पाँचौं स्थानमा थिए ।

८. ल्यारी पेज

गुगलका सह–संस्थापक ल्यारी पेज धनीहरूको सूचीको शीर्ष ८ मा परेका छन् । गत वर्ष उनी शीर्ष १० मा अटाएका थिएनन् । ९१.५ मिलियन डलरका मालिक उनी अमेरिकी नागरिक हुन् ।

९. सर्जी ब्रिन

गुगलका अर्का सहसंस्थापक सर्जी ब्रिन विश्वका आठौं धनी बनेका फोब्र्सले जनाएको छ । ८९ बिलियन डलरका मालिक ब्रिन पनि अमेरिकी अर्बपति नै हुन् ।

१०. मुकेश अम्बानी

यो सूचीको दशौं स्थानमा भारतका मुकेश अम्बानी पर्न सफल भएका छन् । रिलायन्स इन्डस्ट्रिजका मालिक अम्बानीको कुल सम्पत्ति ८४.५ बिलियन डलर रहेको फोब्र्सले जनाएको छ ।

नेपालका एकमात्र अर्बपति विनोद चौधरीको स्थान भने गत वर्षकाे तुलनामा खस्किएको छ । गत वर्ष १५१३ औं स्थानमा रहेका चौधरी यस वर्ष सूचीको २१४१ अ‍ाैं‌ स्थाानमा मा परेका छन् । फोब्र्सकाअनुसार हाल उनको सम्पत्ति १.४ बिलियन अमेरिकी डलर रहेको छ । बाह्रखरी

प्रतिक्रिया दिनुहोस्