| आइतवार, बैशाख २६, २०७८

सशस्त्र विद्रोहको सम्भावना सिद्धिएको छैन : धर्मेन्द्र बास्तोला

सरकारसँग हालै वार्ता र संवादपछि शान्ति प्रक्रियामा आएको विप्लव नेतृत्वको नेकपाका स्थायी समितिका सदस्य धर्मेन्द्र बास्तोलासँग गरिएको कुराकानी ः
तपाईँहरुले भन्दै आउनु भएको वैज्ञानिक समाजवाद के हो ?
वैज्ञानिक समाजवाद भनेको यस्तो राज्य व्यवस्था हो, जहाँ खान, लाउन, शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा जस्ता आधारभूत आवश्यकताका कुराहरु परिपूर्ति हुन्छन् । समाजमा शोषण, उत्पीडत हुदैन ।

समाज निरन्तर परिवर्तनको बाटोमा अघि बढ्छ, हरेक नागरिकलाई सुखी बनाउँछ ।
मान्छे, मान्छेमा द्वन्द्व हुदैन । उसका दिमाग प्रकृतिमाथि विजय हाँसिल गर्न प्रयोग हुन्छ । मान्छेलाई नभै प्रकृतिलाई जित्नका निमित्त प्रतिष्पर्धा हुनेछ । त्यस्तो राज्य व्यवस्थामा पुग्नका निमित्त मान्छेमा राजनीतिक चेतना हुनुपर्छ । राजनीतिक प्रणालीले त्यसका निम्ति बाटो खोलिदिनुपर्छ ।

तर अहिलेको शासन व्यवस्थाले मान्छेको दिमागलाई बन्ध्याकरण गरेको छ । नयाँ चिन्तन, सैद्धान्तिक बहसलाई दबाइदिएको छ ।
अहिले जुन राज्य व्यवस्था छ, त्यसलाई मुठीभरका धनाढ्य मान्छेहरुले नियन्त्रणमा राखेका छन्, सत्तामा हुनेले अराजक तरिकाले शासन सत्ता चलाइरहेका छन् र तिनले आफ्नो स्वार्थका निम्ति जनतालाई दमन गरिरहन्छन् । यस्तो राज्य व्यवस्थालाई प्लेटोक्रेटिक एनार्को अटोक्रेसी भन्छन् । यस्तो संसदवादी सत्ता अहिले नेपालमा विद्यमान छ ।


यसलाई फाल्नको निमित्त वैज्ञानिक समाजवादको जगबाट जानुपर्छ । यस्तो राज्य प्रणाली रोज्नका लागि जनतलाई अधिकार दिनुपर्छ । त्यसैले जनमत संग्रह हाम्रो आग्रह हो ।
जनमत संग्रहलाई अरु पार्टीले साथ दिन्छन् ?
दिनुपर्छ । समाज परिवर्तन गर्नका लागि एउट निकास त चाहियो नि । हरेक परिवर्तन संघर्षबाट हुने गरेका छन् । जनमत संग्रह पनि एउटा अति लोकतान्त्रिक पद्धति हो । लोकतन्त्रवादी भन्नेहरु कसैले पनि इन्कार गर्नुहुदैन ।


दिनपर्छ भन्ने त एउटा मान्यता हो, तर तपाइँको विश्लेषणमा दिन्छन् जस्तो लाग्छ ?
प्रधानमन्त्रीजीले पनि भन्नु भएको छ, उहाँका राजनीतिक सल्लाहकार राजन भट्टराईले पनि भन्नु भएको छ, जनमत संग्रहमा जान सकिन्छ । त्यसैले जनमत संग्रहमा पार्टीहरु सहमत हुदैनन् भन्ने हामीलाई लागेको छैन ।


भएनन् भने सशस्त्र युद्धको कत्तिको सम्भावना छ ?
सशस्त्र युद्ध भन्ने कुरा राजनीतिक निकास निस्किएन भने पैदा हुने कुरा हो । संसारमा जतिपनि युद्धहरु भएका छन्, त्यो राजनीतिक सहज निकास नभएपछिको परिणाम स्वरुप नै हुने गरेका छन् ।
हामीलाई लाग्छ, सशस्त्र द्वन्द्वमा गइराख्नु पर्ने स्थिति आउँदैन । तर आउँदै आउँदैन भन्न सकिँदैन ।
सैद्धान्तिक कुराहरु जनतालाई राम्ररी बुझाउन जरुरी हुन्छ । सबै कुरा राजनीतिले निर्धारण गर्ने हो । यदि राजनीतिको सही निकास निस्किएन भने यसको विकल्प सशस्त्र विद्रोह नै हो ।
समाजको उन्नति, प्रगति, नागरिकको शान्ति, सुरक्षा, मानिसको निमित्त अत्यन्तै आवश्यकीय कुरा हुन् ।

जब राज्यस्तबाट यसमा अवरोध पैदा हुन्छ, त्यो बेलामा द्वन्द्व पैदा हुन्छ । संसारमा जतिपनि द्वन्द्व चलेका छन्, राजनीतिक निकासलाई अबरोध गरेपछि चलेका छन् ।
अहिलेको एक्काइसौँ सताव्दीको सभ्यताको उत्कर्षमा पुगेको युगमा जनतालाई आफ्नो शासन व्यवस्था रोज्नका निम्ति मतदान गर्ने अधिकार दिने हो भने त्यसले द्वन्द्वको खतरा रोक्न मद्दत गर्छ ।
तपाईहरुको रणनीतिक संयुक्त मोर्चामा आवद्ध पार्टीहरु एक हुने सम्भावना छ कि छैन ?
अबश्य छ ।

पहिलो कदम हाम्रो नेपालका सबै कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने र त्यसपछि प्रजातान्त्रिक समाजवादका पक्षधरलाई एकतावद्ध गर्ने हो । अहिलेका दलाल पुँजीवादबाट माथि उठाएर प्रजातान्त्रिक समाजवाद राजनीतिक प्रणालीमा अगाडि बढ्छौँ ।
यदि जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादतर्फ जान भाँजो हाल्ने काम भयो भने के हुन्छ ?
पहिलो कुरा त जनता तयार हुनुपर्छ । जनताले बनाएको दल त हो । जनताले चाहे भने दल तयार नहुने त कुरै हुदैन । जनमत नमान्ने दललाई जनताले झाडु लगाएर डस्टबिनमा राखिदिन्छन् ।
अहिले नेपालमा जनताले पार्टी चलाएका छन् कि पार्टीले जनता चलाएका छन् ?
तपाईलाई म भनुँ ? अतिरञ्जना जस्तो लाग्ला, पार्टीले देश पनि चलाएको छैन, जनता पनि चलाएको छैन ।

कुनै अदृश्य शक्तिले देश पनि चलाएको छ, जनता पनि चलाएको छ, पार्टी पनि चलाएको छ । कुनै अदृश्य हात, जुन देखिँदैन, समात्न पनि भेटिँदैन, त्यो पर्दाभन्दा पछाडि छ र त्यसको छायाँ मात्र भित्र आउँछ । त्यसले चाहिँ देश चलाइरहेको छ ।
तपाईलाई म भनुँ ? अहिले केपी ओलीजी प्रधानमन्त्री भएपछि मात्र आठ खर्ब ऋण थोपरिएछ, जब कि बिगत ३० बर्षमा आठ खर्ब ऋण थुपारिएको थियो । ३० बर्षयताको आठ खर्ब र तीनबर्ष यताको आठ खर्ब गरी अहिले नेपाली जनताको टाउकामा १६ खर्ब ऋण छ । त्यसले आउँदो २०, २५ बर्षसम्म देखिने गरी केही काम भएको देख्नुभएको छ ? कुनै पनि छैन । यो पैसा कहाँ गयो, कसले लग्यो ? कसले परिचालन ग¥यो भन्ने पनि थाहा छैन ।

त्यो चलाउने कुनै हात देखिदैन । न नेताले चलाएको छ, न जनताले चलाएको छ । छायाँले चलाइरहेको छ । त्यही अदृश्य हात हो, जसले नेपाल चलाइरहेको छ । त्यो अदृश्य हात हामीहरुले भने प्रष्टसँग देखिरहेका छौँ ।
त्यसैले जनताले नेता र राज्य प्रणालीलाई नियन्त्रण गर्ने वैज्ञानिक समाजवाद अबको खाँचो हो भनेर हामीले ठम्याएका छौँ ।
सर्वसाधारहरुले नभेट्ने त्यो छायाँ तपाईहरुले चाहिँ देख्नुभएको छ ?
हो, हामीले जुन राष्टिूयता, भ्रष्टाचारका कुरा उठाउँछौ, भूमण्डलीकृत विश्वव्यवस्थाका कुरा उठाउँछौँ ।

तर नेपाल नवऔपनिवेशिकतामा छ । यहाँ सबभन्दा पिछडिएको अर्थतन्त्र छ, दलाल पुँजीवाद कायम छ । जसको कारणले हरेक व्यक्तिको नशानशामा त्यै दलाल पुँजीवाद प्रवाहित छ । उसको दिमागमा दलालीबाहेक कुनै नयाँ कुरा जन्मिदैन ।
सबै नेपालीलाई पनि दोष नदिउँ, केही सचेत मान्छेहरु बाहेक सबै बाहिरबाट परिचालित छन् । अदृश्य हातहरुबाट सञ्चालित छन् । हामीले यही देखिरहेका छौँ ।
तपाईँहरुले परिकल्पना गर्नुभएको वैज्ञानिक समाजवादले अन्तर्राष्ट्रिय समर्थन पाउँछ ?
अहिलेको विश्वव्यवस्थामा कुनै पनि देश कुनै पनि देशबाट अछुतो रहन सक्दैन । अमेरिकन, बेलायती, यूरोपियन युनियन, चीन, भारत सबैको समर्थन चाहिन्छ ।

शान्ति र संवृद्धिको व्यवस्था भएकाले अन्तर्राष्ट्रिय समर्थन पाइन्छ । जनताको शासन प्रणालीलाई सबैले समर्थन गर्छन् ।
प्रायः नागरिकको मनमा आउने प्रश्न छ, तपाईँको पार्टी फेरि सशस्त्र द्वन्द्वमा फर्कने सम्भावना छ कि छैन ?
सशस्त्र युद्ध मान्छेले रहरले गर्दैन । यदि देशभित्र भोको पेट, नाङ्गो शरीर, अशिक्षा, स्वास्थ्य, शिक्षा, धर्म, संवेनशिलतामा व्यापार भयो भने मान्छेले विद्रोह गर्छ । हामीले भनेका छौँ, यस्तो अबस्थाको सिर्जना नहोओस् । वैज्ञानिक समाजवाद स्थापना गरौँ, जनताको चाहना पूरा गरौँ, समाजलाई निरन्तर परिवर्तनतर्फ लैजाऔँ भनेका छौँ । यदि यस्तो भएन भने त स्वतः विद्रोह जन्मिहाल्छ । द्वन्द्वलाई रुलआउट गर्ने हाम्रो कुरा छैन । हामीले हात बाँधेर बस्यौँ भने पनि अर्कोले हतियार उठाइहाल्छ ।
प्रचण्डजीले सबै हतियार उठाएर जानु भएकै हो, फेरि द्वन्द्व किन जन्म्यो ? देशका समस्याहरु जस्ताको तस्तै रह्यो, त्यसैले द्वन्द्व जन्मियो । अब पनि अबस्था जस्ताको तस्तै रह्यो भने जनताले हतियार त उठाइहाल्छ ।


हामीले भनेको के हो भने जनतालई राज्य प्रणाली छान्ने अधिकार दिऔँ । त्यसले द्वन्द्वको अन्त्य गर्छ । समाज गतिशील बन्छ । राज्यप्रणाली स्थिर बन्छ ।
अझै प्रष्टसँग भन्न मिल्छ, यदि तपाईहरुले भनेजस्तो शान्ति सुव्यवस्था कायम भएन भने हतियार उठाउनु हुन्छ ?
त्यो त अनिबार्य बिषय हो । सैद्धान्तिक रुपमा अनिबार्य छ कि, यदि भोको पेट, नाङ्गो शरीर, अशिक्षा, बेरोजगारी, उत्पीडन, बलात्कार, हत्या, धर्म र संवेदनामाथि व्यापार हुन थाल्यो भने अबश्य पनि जनताले बन्दूक उठाउँदैन ? यो कुराको संबोधन त गर्नुप¥यो नि । यस्तो अबस्थामा हतियार उठाउने कुरा त अनिबार्य विषय हो । कित यो समस्या समाधान गर्नुप¥यो । मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्मका एउटा मात्र नागरिकले उत्पीडन भयो भने विद्रोह हुन्छ । यदि बिद्रोह इन्कार ग¥यौँ भने त्यो अवैज्ञानिक हुन्छ । यस्तो अवैज्ञानिक कुरा कसैले ग¥यो भने त्यो मनोगत हुन्छ ।
त्यो विद्रोहको नेतृत्व तपाईँको पार्टीले लिन सक्छ ?
नेतृत्व त जसले पनि लिन सक्छ ।

अहिले हाम्रो पार्टीले ग¥यो । पहिले प्रचण्डीजी, केपी ओली, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीहरुले हतियार उठाएकै हुन् । पछि पो क्रान्तिको बाटो छोडेर पञ्चायतमा प्रवेश गर्नुभयो । उहाँहरुले हतियार बिसाउँदैमा विद्रोह समाप्त त भएन । पछि १० बर्षे जनयुद्ध भयो । प्रचण्डजीहरुले पनि हतियार त बिसाउनु भयो । तर मुलुकको अबस्था ज्यूँका त्यूँ रहेपछि हामी अघि बढ्नु परिहाल्यो नत्र बेइमानी, धोका हुनेछ । संसारको जुनसुकै कुनामा पनि हुने त यही हो ।

प्रतिक्रिया दिनुहोस्