| शनिबार, बैशाख ८, २०८१

गम्भीर संक्रमितले भेरी अस्पताल भरियो: तीन दिनमा १४० जना संक्रमित थपिए

बाँकेमा एक्कासी लक्षणसहितका कोरोना संक्रमितहरु बढ्न थालेपछि भेरी अस्पतालमा रहेको यस क्षेत्रकै सबै भन्दा ठूलो कोभिड वार्डमा ठाउँ अभाव भएको छ । अस्पतालमा ठाउँ अभाव भएपछि विरामी कहाँ राख्ने भन्ने ठूलो समस्या उत्पन्न भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पतालको कोरोना वार्डमा गम्भीर अवस्थाका विरामी राख्ने १० वटा आइसियु र १० वटा भेन्टिलेटर वेड मात्र रहेकोमा हाल त्यहाँ ४० जना गम्भीर अवस्थाका विरामीहरु रहेकोले उनिहरुको उपचारमा समस्या भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
फोकल पर्सन ओलीका अनुसार बाँकेमा मंगलवार पनि ५९ जना संक्रमित थपिएका छन् । यी ५९ जनासंगै गत तीन दिनको अवधीमा मात्रै जिल्लामा १४० जना संक्रमित थपिएका छन् ।
पछिल्लो समयमा थपिएका सबै संक्रमितहरु लक्षणसहितका विरामी रहेको र ती मध्ये अधिकांशको अवस्था आइसियुमा राखेर उपचार गर्ने खालको रहेको फोकल पर्सन ओलीले बताउनुभयो ।

उहाँले अहिलेकै विरामीको कहाँ उपचार गर्ने भन्ने समस्या भएको बेला भोलीबाट थपिने विरामीलाई कहाँ राख्ने भन्ने ठुलो चिन्ता थपिएको बताउनुभयो ।
यसैविच जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले नेपाालगञ्ज मेडिकल कलेजको कोहलपुर र नेपालगञ्ज शिक्षण अस्पतालमा रहेका कोभिड वार्डहरुलाई पुनः सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले भेरी अस्पतालमा विरामी राख्ने ठाउँ नबचेपछि मेडिकल कलेजलाई वार्ड सञ्चालनमा ल्याउन आग्रह गरिएको बताउनुभयो ।

सो बारेमा जानकारी माग्दा नेपालगञ्ज मेडिकल कलेज व्यवस्थापनले वार्ड सञ्चालन गर्न आफुहरु सकारात्मक भएको जनाउँदै तर यस अघि संक्रमितको उपचार गरे वापतको रकम सरकारले हालसम्म पनि उपलब्ध नगराएकोले समस्या परेको बताउनुभयो ।
सोही प्रकारले जिल्लामा रहेका विभिन्न पालिकाहरुलाई पनि विगतमा रहेका आइसोलेसनहरु सञ्चालनमा ल्याउन आग्रह गरिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


केन्द्रका अनुसार हाल भेटिने गरेका संक्रमितहरु सबै लक्षणसहितका रहेकोले उनिहरुलाई आइसोलेसन अस्पतालमै राखेर उपचार गर्नु पर्ने देखिएकोले सो को व्यवस्था नहुँदा ठुलो समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्