| शनिबार, बैशाख ८, २०८१

सगरमाथा आधार शिविरमा कोभिड देखिएको सत्य हो ?

वैशाख २०७८ मा नर्वेका एक पर्वतारोही सगरमाथा आधार शिविरमा बिरामी परेपछि उनलाई रेस्क्यू गरी काठमाडौं ल्याइयो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएर परीक्षण गरी विभागले सम्बन्धित ट्राभल एजेन्सीबाट उनको रिर्पोट मगायो । ‘रिर्पोटमा ‘निमोनिया’ भएको उल्लेख छ । कोभिडको लक्षण थियो, तर रिर्पोटमा निमोनिया मात्र भएको हामीलाई प्राप्त रिर्पोटमा उल्लेख छ,’ तामाङले अनलाइनखबरसँग भने ।

तर, आज मात्र बीबीसी विश्व सर्भिसले सगरमाथामा कोरोना देखिएको र कोरोना लाग्ने नर्वेकै पर्वतारोही भएको ‘स्रोत’लाई उदृत गर्दै लेखेको छ । यसबारे जिज्ञासा राख्दा तामाङले आफूहरुलाई अस्पतालबाट आएको रिर्पोटले त्यसको पुष्टि गर्न नसक्ने बताए । ‘कोभिड मापन गर्ने मापदण्ड पार गरिसकेका कारण रिर्पोटमा नदेखिएको पनि हुन सक्छ,’ उनले भने, ‘तर, बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेको छ, उनमा अब कुनै लक्षण छैन ।’ तामाङका अनुसार विभागले ती आरोहीसँग आएका गाइडलाई समेत परीक्षण गराएको थियो । उनको समेत रिर्पोट नेगेटिभ आएको छ ।

जोखिमसँगै चूनौति भने उत्तिकै

अहिले फर्काइएका एक आरोहीमा कोरोना पुष्टी भए पनि वा नभएपनि सगरमाथामा जोखिम र चूनौति भने दुबै बढेको तामाङ स्वीकार गर्छन् । यो सिजन कम्तिमा १२ सय मानिस सगरमाथा आधार शिविरमा हुनेछन् । ती पर्वतारोही, गाइड, भरियादेखि सहयोगीसम्म रहेका छन् । त्यसमा सरकारले खटाउने सम्पर्क अधिकृत सम्म रहने छन् । ‘त्यहाँ कोरोना फैलियो भने थाम्न नसक्ने परिस्थिति आउने छ,’ उनले भने, ‘हामीले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छौं ।’

यसैसाता विभागले सगरमाथामा भिडभाड कम गर्न एक निर्देशन नै बनाएर सार्वजनिक गरेको थियो । जसअनुसार एक पटकमा बढीमा १ सय ७० जना मात्र आरोही आरोहण मार्गमा जान सक्नेछन् । आधार शिविरमा समेत छुट्टाछुट्टै समूहबीच सामाजिक दूरी कायम गर्न भनिएको छ । सन् २०१९ पछि अहिले पहिलो पटक आरोहण हुन लागेको हो ।

१५ जना हाइअल्टिच्यूड सिकनेसका कारण फर्किए

अहिलेसम्म सगरमाथा आधार शिविर पुगेका मध्ये १५ जना भने विभिन्न स्वास्थ्य समस्याका कारण काठमाडौं फर्किसकेका छन् । त्यसरी फर्कने मध्ये अधिकांशको समस्या उचाइसम्बन्धी रहेको तामाङले बताए । उनका अनुसार काठमाडौं आइसकेकाहरुलाई पुनः हिमालमा फर्कने पीसीआर नेगेटिभ हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ । एक हिमाल चढेर अर्को हिमालमा जान समेत यस्तो प्रावधान अनिवार्य गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्