| शनिबार, बैशाख ८, २०८१

जन्मभूमि गोरखा (कबिता)

जन्मभू महिमा भुल्नै सकिँदैन कसै गरी
प्रथम स्पर्श माटो त्यो मान्छु म जननीसरि ।।

जन्मभूमि तिमी मेरी साईनो मातृपुत्रको
छातीमा सजिँदै बस्ने चम्किने कण्ठहार हो ।।

शिक्षा सम्मान सम्पत् श्री जति आय गरे पनि
चिनारी भन्नु नै मेरो एक मात्र त हौ तिमी।।

तिम्रो उन्नतिमा मेरो हृदय हाँस्न पुग्दछ
तिम्रै बिगतमा हाम्रो नेपाल गर्व गर्दछ ।।

जहाँ रहूँ म पृथ्वीमा हुने छौ साथमा तिमी
सहचर्य कहाँ टुट्ला पुनर्जन्म हुँदा पनि ।।

नकुँदेको हिरा हो यो म जन्म्या गोरखा घर
उजिल्याउन खाँचो छ शिल्पीका जोश जाँगर ।।

दिए आहुति प्राणैका राष्ट्र निर्माण युध्दमा
प्रणाम गर्छु श्रध्दाले पितापुर्खा समग्रमा ।।

इतिहास लुकेका छन् ढुङ्गा माटोतिरै पनि
उपेक्षा तिनको जस्तै भिल्लका देशमा मणि ।।

लक्ष्य महान बोकेर लड्यो गोरखा निरन्तर
विन्दु जो सिन्धु भै छायो मेची काली सवैतिर ।।

सक्दिन हेर गाएर तिम्रो गाथा सुकिर्तिको
म त भ्याउन्न लेखेरै महिमा इतिहासको ।।
१०
गोर्खा हो राष्ट्र निर्माता इतिहास महान छ
जन्मभूमि सदा मेरो देवतासरि पूज्य छ ।।

(अनुष्टुप् छन्द)

२३ जुलाई २०१९
गोरखा बजार
हालः म्याडिसन अमेरिका ।

प्रतिक्रिया दिनुहोस्