| बिहिबार, कार्तिक ४, २०७८

आज बडादसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा

आज बडादशैं अर्थात नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिंदैछ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ रात्रमा ब्रत बस्ने उल्लेख गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ ।

हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् आजको दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गर्छन । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जल जमरामा राखिन्छ ।

यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलले भरिएको कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा)र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

हिन्दु धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ ।

आजको दिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ । पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरि दुई प्रकारका हुन्छन ।

बलि प्रदान गरिसकेपछि आजको दिनको कार्य समापन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्