| शनिबार, बैशाख ८, २०८१

बढ्दो सडक दुर्घटना : वार्षिक ३० अर्बभन्दा बढी क्षति

यस पटकको दसैँ पनि धेरै परिवारका लागि दशा बनेको छ । दसैँ अवधिमा देशका विभिन्न ठाउँमा भएको सडक दुर्घटनामा दर्जनौं नागरिकले अकालमै ज्यान गुमाए । प्रहरी प्रधान कार्यालयका अनुसार घटस्थापनदेखि कात्तिक १ गतेसम्म सडक दुर्घटनामा १६१ जनाको मृत्यु भएको छ । फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो । दसैँ कै बेला कास्कीको घान्द्रुक नजिकै जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । यस्तै, नुवाकोटको मानेगाउँमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने तीन दर्जन हाराहारीका यात्रुहरू घाइते बने । यता काठमाडौं उपत्यकाभित्र नै दसैँ अवधिमै ३०८ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो । देशका ठाउँ ठाउँमा घटेका सडक दुर्घटना कारण दर्जनौंले अकालमै ज्यान गुमाउनु गुमाएका हुन् । 

वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी
सडक सुरक्षा, उत्पादकत्व र यसको आर्थिक तथा सामाजिक पाटोबारे नेपालमा कमै छलफल हुने गरेको छ । तर, दुर्घटनाबाट व्यक्ति र राज्यलाई निकै आर्थिक भार परिरहेको छ, जुन विकराल बन्दैछ । वि.सं. २०६२ सालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गरेको एक अध्ययनले सडक दुर्घटनाबाट त्यो वर्ष नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) मा ०.८ प्रतिशतले क्षति पुगेको जनाएको थियो । त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या निरन्तरत बढिरहेको छ । जसले मुलुकको वार्षिक अर्थतन्त्रको कम्तीमा पनि ०.९ प्रतिशत नोक्सान पुगिरहेको विभिन्न रिपोर्टहरूले देखाएका छन् । यस्तो नोक्सान सडक दुर्घटनाकै कारण प्रति वर्ष नेपालीले ३० अर्ब रुपैयाँभन्दा बढी गुमाउने गरेको अनुमान छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल दक्षिण एसियामै बढी सडक दुर्घटना हुने मुलुक हो । हरेक वर्ष प्रतिलाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन् । विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ भने लाखौं संख्यामा गम्भीर घाइते तथा अंगभंग हुने गरेका छन् ।

किन बढ्दैछ सडक दुर्घटना ?
सडक तथा यातायात विकास विज्ञ इन्जिनियर आशिष गजुरेल अहिलेको सडक दुर्घटनाको मुख्य कारक तत्वकै सडक संरचनाको दुर्दशा र विकास मोड नै भएको औंल्याउँछन् । ‘सडक र यातायात नै प्रमुखतः विकासको पूर्वाधार हो । हामी पूर्वाधारको अभावमा छट्पटाइरहेका छौँ । अझ भएका पूर्वाधारहरू समेत व्यवस्थित गर्न सकिएको छैन । जसको दुर्दशा अहिले हामी भोग्दै छौँ,’ इन्जिनियर गजुरेलले भने, ‘गएको एक हप्ताभित्र मात्र १६१ बढी नेपालीहरूले अकालमा नै ज्यान गुमाए, कारण सडक पूर्वाधार व्यवस्थित नहुनु नै हो ।’ सडक र यातायातको व्यवस्थापन आजको मुख्य चुनौती हो । सडक दुर्घटनामा विश्वभर हरेक वर्ष १३ लाख हाराहारीमा मानिसहरूले ज्यान गुमाइरहेका छन् । नेपालमा हरेक वर्ष सडक दुर्घटनामा करिब २५०० जनाले ज्यान गुमाइरहेका छन् ।

काठमाडौंमा १२ लाखको हाराहारीमा सवारी साधनहहरू गुड्छन् भने देशभरबाट झण्डै ४० लाख सवारीसाधन दर्ता भइसकेका छन् । अझ यो संख्या दिनानुदिन बढ्दो क्रममा छ । गाडीको आयातमा रोक लगाउने अवस्थापनि छैन । दिनप्रतिदिन बढ्दो सवारी चापका कारण ट्राफिक समस्या उस्तै विकराल बन्दैछ । यद्यपी, हाल मुलुकको सडक सञ्जाल ९० हजार किलोमिटर माथि पुगिसकेको अवस्था छ । र पनि यो पनि प्रयाप्त नभएको सडक तथा यातायात विज्ञ गजुरेल बताउँछन् । 

‘सडक सञ्जालको विकास एवम् विस्तारले मात्र ट्राफिक जाम र सडक दुर्घटना रोक्न सक्दैन, यसका लागि प्राविधिक तथा व्यवहारिक पक्षको पनि उतिकै हात हुन्छ । विभिन्न अध्ययनले देखाएको तथ्याङ्क अनुसार तुलनात्मक रुपमा चार पाङ्ग्रे भन्दा दुईपांग्रे सवारीबाट सडक दुर्घटनाको उच्च जोखिम हुन्छ । यस्तो जोखिम अधिकतम ८० प्रतिशत बढी नै हुने विभिन्न खोजहरूले देखाएका छन् । तर दुर्भाग्य, हाम्रोमा यहीँ सेग्मेन्टका सवारी साधनको बढी आयात र प्रयोग हुन्छ ।’

त्यसो त गत आर्थिक वर्षको सवारी साधन आयातको तथ्याङ्कलाई मात्र हेर्ने हो भनेपनि आर्थिक वर्ष २०७७/७८ मा मात्र अधिकतम चार लाख ७८ हजार ७२ वटा सवारी साधनहरू आयात भएका छन् । जसमध्ये तीन लाख ५३ हजार ५३४ वटा मात्र दुई पाङ्ग्रे अर्थात् मोटरसाइकल सेग्मेन्टका सवारी साधनहरू छन् । यो भनेको कुल आयातको अधिकतम ७३.९४ प्रतिशत हो । यसले सडक दुर्घटनालाई थप सहयोग पु¥याइरहेको छ ।

यसको अलवा हाम्रोमा सडक दुर्घटना बारम्बार दोहोरिनुको मुख्यतः चार कारणहरू छन्
१. सुरक्षित सडक पूर्वाधारको कमी, 
२. सवारी साधनको उच्चतम प्राविधिक पक्षको ज्ञानको कमी, 
३. सडक अनुशासन अर्थात् ट्राफिक नियमको परिपालनमा समस्या, र
४. सडक तथा यातायातको मनलाग्दी प्रयोग

आखिर दसैँ तिहारकै बेला किन चुलिन्छ सडक दुर्घटनाका घटनाहरू ? 

यस वर्ष मात्र होइन, प्रायः दसैँ तिहारकै बेला सडक दुर्घटनाका घटनाहरू बढ्ने गरेका छन् । जुन केही वर्ष मात्र सिन्धुलीको झाँगाझोली, रातामाटेमा घटेको घटनालाई हामी बिर्सन सक्दैनौँ । जुन एउटै घटनाबाट अधिकतम ४१ जनाले ज्यान गुमाएका थिए । यस्तै नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र रामेछाप लगायत पहाडी क्षेत्रमा दसैँ –तिहारकै बेला धेरै सडक दुर्घटनाका घटनाहरू घटेका छन् । जसबाट धेरै जनधनको क्षति भएको छ । 
प्रायः दशैंकै बेला बढी सवारी साधनको प्रयोग हुन्छ र जोखिम पनि । अर्कातर्फ बर्खा सकिँदा/नसकिदै लाग्ने दसैँ का बेला अधिकांश सडकहरूको अवस्था खराब हुन्छ भने भएका कालोपत्रे सडकहरू पनि असुरक्षित हुन्छ । जसले दुर्घटनाको जोखिम थप बढाउने गर्छ । यो समयमा यातायात व्यवसायी र गाडी चालकले बढी आम्दानीको लोभ गरिदिँदा दुर्घटनाको जोखिम बढ्ने गर्छ । 

तथापि, यस्तो सडक दुर्घटना नेपालमा मात्र होइन अन्य विकसित भनिएका मुलुकहरूमा पनि घट्ने गर्छन् । उदाहरणका लागि अमेरिका, जर्मनी, स्वीडेन, चीन जस्ता विकसित देशहरूमा सडक सुरक्षाका अधिकतम (प्रायः सबै मापदण्डहरू) लागू गरिएको छ । तर पनि अमेरिकामा वर्षेनी सडक दुर्घटनाकै कारण ३७ हजार माथिले ज्यान गुमाउने गरेका छन् । यस्तै, भारतमा एक लाख ३७ हजार, चीनमा २ लाख ६० हजार, जर्मनीमा ५ हजार, स्वीडेनमा ४७१ र बेलायतमा ३ हजारको हाराहारीमा वर्षेनी सडक दुर्घटनाकै कारण ज्यान गुमाइरहेका छन् । त्यसैले सडक दुर्घटनालाई ठ्याप्पै रोक्ने भन्दा पनि यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेतर्फ नेपाल सचेत हुनुपर्ने विज्ञहरू बताउँछन् । 

एक अध्ययनका अनुसार वैज्ञानिक ट्राफिक व्यवस्थापन गरी कानून कडाइका साथ लागू गर्ने हो भने अहिलेको समस्या ४० प्रतिशत दुर्घटनामा कमी आउँछ । जसका लागि ट्राफिक कानून लागू गर्ने तीन तरिकाहरू छन् । 
पहिलो, ट्राफिक सम्बन्धित कानून विकास गरेर पास गराउने, दोस्रो यस्तो ट्राफिक नियमको कडाइका साथ कायान्यान्वयन र तेस्रो नियम नमान्नेलाई कडा भन्दा कडा दण्डसजायको व्यवस्था । यति भए ८० प्रतिशत सडक दुर्घटना हट्ने यातायात विज्ञ गजुरेल बताउँछन् । #दुर्घटना

प्रतिक्रिया दिनुहोस्