| बिहिबार, अशोज १५, २०७७

नयाँशक्ति र विवेकशिल साझासँग पार्टी एकता हुन सक्छ ः ढकाल

दरौँदी ः नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नयाँ शक्ति र विवेकशिल साझासँग पार्टी एकता हुन सक्ने बताएका छन् । मंगलबार गोरखाका सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष ढकालले यी दुईपार्टीसँग सिद्धान्त र एजेण्डा मिलेको भन्दै उनले पार्टी एकता हुन सक्ने बताएका हुन् ।
‘बाम गठबन्धन र लोकतन्त्रबादी भन्ने पुराना कुनैपनि पार्टीसँग एकता हुँदैन, उनले भने ‘अहिलेका नयाँ पार्टीसँग एजेण्डा मिलेकोले उनीहरुसँग एकता भने हुन सक्छ ।’

एक सांसद लिने दाउमा एमालेसँग चुनाबी तालमेल गरेर सूर्य चिन्हमा भोट माग्दै हिँडेका ढकालले एमालेले अहिलेसम्म सहमति कार्यान्व्यन नगरेको बताए । ‘चुनाबमा एमालेसँग तीन बँुदे सहमति भयो’ उनले भने ‘परिवारदलले आफ्ना नेताकार्यकर्तालाई सूर्य चिन्हमै मतदान गर्न आह्वान गर्ने, एमालेले परिवार दललाई एक सांसद दिने र बाम गठबन्धनको सरकारलाई समर्थन जनाउने सहमति भएको थियो । हामीले जिम्बेवारी पुरा गरियो एमालेले दायित्व पुरा गर्नबाँकी छ ।’ बाम गठबन्धनको सरकारलाई समर्थन भने गरिरहने उनले बताए । ‘सरकारमा राम्रो टिम छ’ उनले भने ‘मन्त्रालय सम्हाल्नु भएका साथीहरु केही निकै उत्साही र केही गर्न खोज्ने पनि हुनुहुन्छ आशा छ केही पक्कै गर्नु होला । एमालेले पनि हाम्रो पार्टीलाई केही सरप्राईज देला ।’ उनले चुनाबमा एमालेसँग तालमेल गरेर पछुतो भएको समेत स्वीकारे । ‘हामी एक्लै लडेको भए प्रदेशमा केही प्रतिनिधीहरु आउनुहुन्थ्यो’ उनले भने ‘इतिहासबाट सिक्नुपर्छ भन्ने छ नी हामीले वितेको कुराबाट पाठ सिकियो । अब यस्तो गल्ती दोहोरिएर हुँदैन ।’ एमाले पहिलो पार्टी परिवारदलका कार्यकर्ताको भोटले भएको उनले बताए । उनले एमालेलाई परिवारदलले भोट नहालेको भए कांग्रेस पहिलो पार्टी हुने समेत ठोकुवा गरे ।
आगामी निर्वाचनमा सहभागि हुनका लागि परिवारदले केही दिन भित्रै देखि तयारी थाल्ने र संगठन बलियो बनाउँदै लैजाने उनले बताए । ‘आगामी निर्वाचनमा कोहीसँग सम्झौता हुँदैन’ उनले भने ‘अब हामी देशैभरका स्थानीय तहमा गएर विभिन्न चरणको कार्यक्रम गर्छाैँ । वडा, गाउँपालिका हुँदै जिल्लामा संगठन बनाएर हामी अघि बढ्दै छौँ ।’
बूढी गण्डकीको सबै मुआब्जा वितरण गर्न माग
फरक प्रसंगमा उनले बूढी गण्डकी जलाशय परियोजनाले तत्कालै बाँकी प्रभावितलाई मुआब्जा वितरण गर्नुपर्ने बताए । ‘बूढी गण्डकीको विषयमा उर्जा मन्त्रालय र उर्जा मन्त्री जानकार नै हुनुहुन्छ’ उनले भने ‘म काठमाडौँ फर्केपछि उर्जामन्त्रीसँग भेटगरी पछिल्लो प्रगती के रहेछ बुझ्छु ।’ ढकाल आफैँ बूढी गण्डकी जलाशययूक्त आयोजनाको डुबान प्रभावित समेत हुन् ।
भीसेनको केन्द्र पुरानै ठाउँमा राख्न आग्रह
जिल्लाको सबै भन्दा विवादित भीमसेन गाउँपालिकाको केन्द्र विवाद अझै टुंगोमा पुगेको छैन । गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले भीमसेनको केन्द्र पहिले रहेको बगुवा बाट घ्याम्पेशाल सारेको भन्दै पूर्व मन्त्री समेत रहेका ढकालले आपत्ती जनाए । ‘गाउँपालिकाको केन्द्र घ्याम्पेशाल कुनै कुराले पनि सेन्टरमा पर्दैन’ उनले भने ‘अध्यक्ष ज्यूले निर्णयलाई पुर्नविचार गरेर पहिलेकै ठाउँ बगुवामा सार्दा राम्रो हुन्छ ।’ भीमसेनको केन्द्र विवाद सर्वाेच्चमा अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया दिनुहोस्