| शनिबार, बैशाख ८, २०८१

कांग्रेस उपसभापतिमा विजय गच्छदारलाई बनाउने तयारी, विमलेन्द्र निधि आउट !

कांग्रेस उपसभापतिमा विजय गच्छदारलाई बनाउने तयारी, विमलेन्द्र निधि आउट भएकै हुन त ?

७ वैशाख – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा रिक्त रहेका तीनजना पदाधिकारीको मनोनयन गर्ने तयारी पार्टी सभापति शेरबहादुर देउवाले गरेका छन् । आजदेखि सुरु हुने बैठकमा देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।


पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक भइरहेकै बेला दिल्लीमा केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएकाले बैठक रोकिएको थियो । खड्काको शोकमा स्थगित भएको बैठक शुक्रबार दिउँसोबाट पुनः बोलाइएको छ । चैत ९ गतेबाट शुरु भएको बैठक चैत १६ गते स्थगित भएको थियो ।

नेताहरुले धारणा राख्ने क्रम नसकिएकाले आज पनि यही क्रम जारी रहने छ । धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक केही दिन लम्बिन सक्ने सम्भावना छ ।

यसअघि ४२ जना केन्द्रीय सदस्यले निर्वाचन परिणाम र समसामयिक राजनीतिबारे धारणा राखिसकेका छन् ।

आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा अस्ति बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिक परिस्थिति र विगतको चुनावी समीक्षाबारे आफ्नो धारणा राख्ने छन् ।

गच्छदार कि निधि ?

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै गुटका नेता विमलेन्द्र निधीलाई उपसभापति बनाउने चर्चा यसअघिदेखि नै चल्दै आएको छ । तर, यसवीचमा देउवाले निर्वाचनको मुखमा विजय गच्छदारलाई कांग्रेसमा भित्र्याएका छन् र उनलाई उपसभापति बनाउने आश्वासन दिएका छन् ।

गच्छदारलाई उपसभापति बनाइएमा निधीले असन्तुष्टि राख्ने निश्चित छ । तर, गच्छदारलाई दिइएको आश्वासनबाट पनि देउवा पछि हट्ने स्थिति छैन । कांग्रेस निकट स्रोतका अनुसार निधिलाई कुनै एक पद दिएर मुख थुन्ने भएका छन् । नत्र गच्छदारलाई उपसभापति बनाएमा निधिले विरोध गर्ने निश्चित रहेको स्रोत बताउँछ ।

विजयकुमार गच्छदार आफूलाई उपसभापति र अन्य एक दर्जन नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्ने पूर्वसर्तसहित नेपाली कांग्रेसमा विलय भएका हुन् ।

यसैवीच सभापति देउवाले मनोनित महामन्त्रीमा पूर्णबहादुर खड्कालाई ल्याउन लागेको चर्चा छ । सहमहामन्त्रीमा डा. प्रकाशशरण महतको नाम चर्चामा छ । दुबै देउवा गुटका नेता हुन् ।

कांग्रेस स्रोतका अनुसार उपसभापतिमा गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् । त्यस्तै महामन्त्रीमा देउवा समूहबाटै मानबहादुर विश्वकर्माले पनि आकांक्षा देखाएका छन् ।

देउवाले पदाधिकारीहरुको मनोनयन सहमतिमै हुनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गर्दै आएका छन् । तर, देउवा भने यी पदहरुमा आफ्नै गुटमा मानिस ल्याउने पक्षमा छन् ।

पछिल्लो समय देउवाको विपक्षमा पौडेल पक्षले आफूलाई संगठित गर्दै लगेको छ । देउवा पक्षमा रहेका अर्जुन नरसिंह केसी पौडेल पक्षमा गइसकेका छन् । त्यस्तै तेस्रोधारका रुपमा रहेको सिटौला समूह पनि अहिले रामचन्द्र पौडल पक्षसँग नजिकिएको छ । प्रकाशमान सिंह पनि देउवाविरोधी कित्तामा खुलेर लागिसकेका छन् ।

तर, यति हुँदा पनि केन्द्रीय कार्यसमितिमा देउवा समूहको बलियो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्