| शुक्रबार, अशोज १६, २०७७

बर्ष दिनमै फुट्यो राजपा

बर्ष दिनमै फुट्यो राजपा

काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपाल  (राजपा) स्थापना दिवसकै दिन फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरुले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामको नयाँ पार्टी घोषणा गरेका हुन् । उक्त पार्टीको महाधिवेशन नहुन्जेलका लागि ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह-संयोजकमा रीतेश कुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव तथा केन्द्रीय तदर्थ समिति सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित छन् ।

‘मधेस आन्दोलनमा निर्दोष मधेसी जनताले ज्यान गुमाए, तर यसको फाइदा र उपलब्धि अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारले मात्रै लिइरहेका छन्’, संयोजक यादवले ०६२/६३ को मधेस आन्दोलनमा ६३ जनाले सहादत प्राप्त भएको बताउँदै भने, ‘संविधान संशोधनको विषयमा उनीहरुले कुनै भूमिका खेल्नै सकेनन् ।’

मधेसी जनताको मुल एजेण्डा संविधान संशोधनमा कुनै भूमिका नखेली सत्ताका लागि मात्रै हतार गरेकोले आफूहरुले बाध्य भएर पार्टी फुटाएको संयोजक यादवले बताए ।

‘अध्यक्ष मण्डलका ६ जना सदस्यहरुले मुद्दा नै बिर्सजन गर्नुभयो, उहाँहरुले मधेशको मुख्य मुद्दालाई नै तिलाञ्जली दिनुभयो’, उनले भने, ‘यो जनताप्रतिको धोका र गद्दारी हो ।’

कार्यक्रममा बोल्दै सह-संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको स्पष्ट पारे । ‘विगतमा के भयो ? हामीलाई थाहा भएन, तर अहिले पनि हामी राम्रै पदमा थियौं’, उनले भने, ‘उहाँहरुको शैली गलत थियो, जुन एजेण्डाका लागि आन्दोलन भयो, त्यसमा उहाँहरुले कुनै काम गर्नुभएन।’

राजपा नेपालका अध्यक्ष मण्डलहरुले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको आरोप सिंहले लगाए । ‘उनीहरुबाट राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएका हौं’, उनले भने । आफूहरुले घोषणा गरेको नयाँ पार्टीको मुख्य एजेण्डा राष्ट्रियतासहितको लोकतन्त्र र समाजवाद भएको उनले स्पष्ट पारे ।

निर्वाचन आयोगको नियम अनुसार पार्टी गठन भएको एक वर्षभित्रै महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेकोले सोही अनुसार आगामी एकदेखि डेढ वर्षभित्रै महाधिवेशन गर्ने उक्त पार्टीले जनाएको छ ।

उनीहरुले निकालेको विज्ञप्ती अनुसार राजपा नेपालको विभिन्न पदाधिकारीसहित ३३ जनाले पद बहिष्कार गरेका छन् । हतारमा पार्टी फुटाउनु परेकाले समय अभावका कारण अन्य नेताहरु जिल्लाबाट आउने क्रम जारी रहेको उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्